
मधेश प्रदेश सरकार गठनविरुद्ध सात राजनीतिक दलका सांसदहरूले प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन्। विरोध प्रदर्शनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल लगायतका दलका सांसदहरू सहभागी थिए।

सरकार गठनविरुद्ध एमालेबाहेकका दलहरूले आजै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। ७४ प्रदेश सांसदको हस्ताक्षरसहित दायर रिटको पेसी बुधबारका लागि तोकिएको छ। रिट निवेदन पेश गर्न नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी उपनेता युवराज भट्टराई, लोसपा नेता जयलुन राई लगायत सर्वोच्च पुगेका थिए।
गत आइतबार, संविधानको धारा १६८ को ३ बमोजिम, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सोमबार बिहान बर्दिबासको पानस होटलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएपछि कांग्रेससहितका दलहरूले आक्रोश व्यक्त गरेका थिए।
होटलमा शपथ गराएको घटनापछि प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार मंगलबार उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।

