

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ। यो केवल एक वार्षिक प्रतियोगिता होइन, नेपाली क्रिकेटको भविष्य–दिशा निर्धारण गर्ने महत्वपूर्ण चरणका रूपमा पनि हेरिएको छ।
गत वर्षको पहिलो संस्करणले लिगको संरचना र आकर्षणको जग बसाएको थियो । अहिले सुरु हुने दोस्रो संस्करणले त्यो जगलाई मजबुत बनाउँदै नेपाली क्रिकेटलाई नयाँ रूप, रफ्तार र वातावरणमा लैजाने अपेक्षा गरिएको छ।
यस वर्षको एनपीएललाई विशेष बनाउने मुख्य कारणमै पर्छ— कीर्तिपुर मैदानको व्यापक पुनःसंरचना। आधुनिक दर्शकदीर्घा, खेलमैदानको सौन्दर्य, र सबैभन्दा महत्वपूर्ण फ्लड लाइट्स अब मैदानको नयाँ पहिचान बनेका छन्।
यससँगै नेपाली दर्शकले पहिलोपटक ‘नाइट क्रिकेट’ को अनुभूति आफ्नै घरेलु मैदानमा पाउने भएका हुन्। दिनको क्रिकेटभन्दा रातको क्रिकेट वातावरण, तनाव, र ऊर्जा सबै हिसाबले भिन्न हुने भएकाले यसले खेलको स्तर र आकर्षण दुवै थप्ने अपेक्षा छ।
दर्शकहरूले पनि अब फुर्सदको समय छान्दै सहज वातावरणमा राति क्रिकेट हेर्ने वातावरण पाउनेछन्। नयाँ संरचना र वातावरणले राष्ट्रिय तथा फ्र्यान्चाइज क्रिकेटमा दर्शकहरूको सहभागिता वृद्धि गर्ने अनुमान छ।
एनपीएललाई ‘नेपाली क्रिकेटको टर्निङ पइन्ट’का रूपमा चित्रण गर्न थालेका विश्लेषकहरूका अनुसार, यो संस्करण सफल भए नेपाली क्रिकेट संरचनागत रूपमा अर्को स्तरमा उक्लने छ, जसको सकारात्मक प्रभाव दीर्घकालीन हुनेछ।

