Aadarsh-Daily

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथसंगै पदभार ग्रहण

ad-4p

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथसंगै पदभार

content ad p2

मधेस प्रदेशका नेपाली काँग्रेस सभापति कृष्णप्रसाद यादव आज आइतबार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई शपथ ग्रहण गरेका छन्। जनकपुरधाममा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। यादव मधेस प्रदेशका छैटौँ मुख्यमन्त्री बनेका छन्, र योसँगै काँग्रेसले पहिलोपटक मधेस प्रदेशको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेको छ ।

यादवलाई सात दलीय गठबन्धनको समर्थनमा मङ्सिर १९ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको थियो। उनलाई समर्थन गर्ने दलहरूमा नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १८, जनमत पार्टीका १२, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८, नेकपा (एकीकृत समाजवादी) का ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्। कुल ७७ सांसदको हस्ताक्षरसहित यादवले बहुमतको दाबी पेस गरेका थिए, जुन १०७ सदस्यीय प्रदेशसभामा ५४ सिटको आवश्यकतालाई पूरा गर्छ।

content left

शपथपछि पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री यादवले मङ्सिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने जानकारी दिए। गठबन्धनको बैठकले पनि तीन दिनभित्रै विश्वासको मत लिने निर्णय गरिसकेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले बताएका छन्।

शपथ ग्रहणसँगै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद्को पहिलो चरणको विस्तार पनि गरेका छन्। प्रदेश प्रमुख कर्णले नेपाली काँग्रेसका जंगीलाल राय यादव र नेकपा (एकीकृत समाजवादी) का कनिश पटेललाई बिना विभागीय मन्त्रीका रूपमा शपथ खुवाएका छन् । त्यस्तै, जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले अर्थमन्त्रीको जिम्मेवारीसहित शपथ लिएका छन्। बाँकी मन्त्रालयहरू विश्वासको मतपछि टुङ्ग्याइने जानकारी सरकारले दिएको छ ।

यसअघि कात्तिक २४ गते एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए । तर सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि आवश्यक समर्थन जुटाउन नसक्दा उनले राजीनामा दिएका थिए। असंवैधानिक रूपमा नियुक्ति गरेको ठहर गर्दै तत्कालीन प्रदेश प्रमुख सुमना सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरेको थियो भने सभामुख रामचन्द्र मण्डल महाभियोगमार्फत पदबाट हटाइएका थिए। परिणामस्वरूप, २४ दिनमै एमालेले मधेस प्रदेशमा मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुख— तीनै पद गुमाएको थियो।

हाल प्रदेशसभाको सभामुख पद रिक्त रहेको छ, र उपसभामुख बबिता राउत ईशरले बैठक सञ्चालन गरिरहेकी छन्। नयाँ सरकार गठनसँगै मधेस प्रदेशमा राजनीतिक स्थिरताको अपेक्षा गरिएको छ। विश्वासको मत प्राप्त भएपछि सरकारले पूर्ण मन्त्रिपरिषद् विस्तार गरी नीति तथा कार्यक्रम अघि बढाउने तयारी गरेको बुझिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily