
वीरगंज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाको उम्मेदवारीलाई लिएर जनस्तरमा तीव्र असन्तुष्टि देखिएको छ। पार्टीभित्र पहुँच र पैसाको बलमा टिकट सुरक्षित गरे पनि जनताको विश्वास जित्न उनी असफल देखिएको स्थानीयको भनाइ छ।
चुनाव नजिकिँदै जाँदा रुंगटा घरदैलो तथा सभा–सम्मेलनमा सक्रिय देखिए पनि विगतमा जनतासँगको उनको उपस्थिती कमजोर रहेको गुनासो बढ्दो छ। २०७४ सालको निर्वाचनमा पराजय भोगेपछि लामो समयसम्म जनसम्पर्कबाट टाढा रहेको आरोप उनीमाथि लाग्दै आएको छ।
स्थानीय बासिन्दाले सडक, खानेपानी, रोजगारी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत समस्यामा रुंगटाबाट कुनै ठोस पहल नदेखिएको बताएका छन्। गाउँ–टोलमा “चुनाव आयो, नेता देखियो” भन्ने धारणा बलियो बन्दै गएको छ।

विकासका नाममा ठूला भाषण भए पनि काम देखिने खालका नभएको स्थानीयको आरोप छ। उद्योग–व्यवसायसँग नजिक सम्बन्ध भए पनि स्थानीय युवाको रोजगारी र सीप विकासमा प्रभावकारी भूमिका नखेलेको उनीहरूको भनाइ छ।
यसले रुंगटाको राजनीति जनतामुखीभन्दा पनि स्वार्थ र पहुँच केन्द्रित रहेको संकेत गर्ने स्थानीयको टिप्पणी छ। अर्कोतर्फ, प्रतिस्पर्धी उम्मेदवारहरू विगतका काम, निरन्तर जनसम्पर्क र जनताबीचको उपस्थितिका कारण बलियो पकड बनाउँदै गएको देखिन्छ।
यस सन्दर्भमा रुंगटाको उम्मेदवारी पैसाले सजिएको पोस्टर र प्रचारमा मात्र सीमित भएको टिप्पणी सुनिन थालेको छ। मतदाताहरूले भाषणभन्दा विश्वास, उपस्थिती र परिणाममुखी काम आवश्यक रहेको स्पष्ट सन्देश दिएका छन्।
राजनीतिमा टिकट पाउनु मात्र जितको आधार नहुने जनताको बुझाइ छ। जनताको सुख–दुःखमा साथ, निरन्तर उपस्थिती र काम नै वास्तविक मापदण्ड भएको भन्दै पर्सा–१ का मतदाताले यसपटक पनि उम्मेदवारलाई यही आधारमा तौलिने संकेत दिएका छन्।

