

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना जयसवाल कुर्मीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा जनता भेटघाट कार्यक्रमलाई तीव्रता दिएकी छन् ।
घरदैलो कार्यक्रमअन्तर्गत कुर्मीले बुधवार वीरगञ्ज महानगरपालिका–२९ बसडील्वा र पर्सागढी नगरपालिका–९ तेलियामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेकी हुन् । सो अवसरमा उनले स्थानीय नागरिकका समस्या, अपेक्षा र सुझाव सुन्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराएकी थिइन् ।
मतदातासँगको संवादमा कुर्मीले राप्रपाको मूल एजेन्डाअनुसार सुशासन, राष्ट्रवाद, सनातन धर्म–संस्कृतिको संरक्षण, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मुलुकमा राजनीतिक अस्थिरता र नीति असङ्गतिका कारण विकासले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उनले स्थायित्व र स्पष्ट दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेको बताइन् ।
कुर्मीले पर्सा–२ को समग्र विकासका लागि विशेष योजना अघि सारेकी छन् । कृषि क्षेत्रको आधुनिकीकरण, साना तथा मझौला उद्योगको प्रवर्द्धन, युवालाई स्वदेशमै रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेको उनले बताइन् । त्यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, गुणस्तरीय पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ व्यवस्थापन, सडक सञ्जाल विस्तार र विपन्न समुदायको जीवनस्तर उकास्ने कार्यक्रमलाई पनि आफ्नो चुनावी प्रतिबद्धतामा समेटेकी छन् ।
कुर्मीले भनिन्, “पर्सा–२ को विकासका लागि स्पष्ट योजना, इमानदार नेतृत्व र जनताको निरन्तर साथ आवश्यक छ । म जनताको विश्वास जितेर क्षेत्रको समृद्धि र सुशासनका लागि समर्पित भएर काम गर्नेछु ।”
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले क्षेत्रको सडक, सिँचाइ, स्वास्थ्य सेवा तथा रोजगारीका विषयमा चासो व्यक्त गरेका थिए । कुर्मीले जनताको सुझावलाई आफ्नो कार्य योजनामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा आफूलाई समर्थन गर्न आग्रह गरिन् ।

