Aadarsh-Daily

गलत उपचार र लापरबाहीले बिरामीको ज्यान लियो—-वीरगञ्जको प्रभु अस्पताल प्रकरणमा डा. गुप्तामाथि अनुशासनात्मक कारबाही

ad-4p

वीरगञ्ज। वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा भएको गम्भीर चिकित्सकीय लापरबाहीका कारण एक बिरामीको ज्यान गएको प्रकरण सार्वजनिक भएपछि अस्पतालको उपचार प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। घटनामा संलग्न रहेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले अस्पतालका संस्थापक चिकित्सक डा. मनोजकुमार गुप्तामाथि अनुशासनात्मक कारबाही गरेको छ।

काउन्सिलले डा. गुप्तालाई ६ महिनासम्म अन्य वरिष्ठ विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र उपचार सेवा दिन पाउने गरी तह घटुवा गर्दै कारबाही गरेको हो। फागुन ११ र १२ गते बसेको काउन्सिलको पूर्ण बैठकले घटनासम्बन्धी विवरण, शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा विज्ञहरूको राय–सुझाव अध्ययन गरेपछि चिकित्सकीय लापरबाही देखिएको निष्कर्षसहित उक्त निर्णय गरेको काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले जानकारी दिए।

काउन्सिलका अनुसार बारा जिल्लाका ३७ वर्षीय सुरेश साह कानु २०८० कात्तिक १४ गते पित्त थैलीसम्बन्धी समस्या लिएर प्रभु अस्पताल पुगेका थिए। तर रोगको स्पष्ट पहिचान गर्न आवश्यक परीक्षण नगरी हतारमा शल्यक्रिया गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

अस्पतालले पित्त थैली निकालेर प्रयोगशालामा परीक्षणका लागि पठाएको दाबी गरे पनि बिरामीका परिवारलाई त्यससम्बन्धी कुनै आधिकारिक प्रतिवेदन उपलब्ध नगराइएको आरोप छ। शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि उनलाई थप उपचारका लागि अर्को अस्पताल लगिएको थियो। त्यहाँ गरिएको परीक्षणबाट शरीरभित्र क्यान्सर फैलिएको तथ्य खुलेको चिकित्सकहरूले बताएका थिए।

प्रारम्भिक उपचारमै गम्भीर त्रुटि भएको र त्यसले बिरामीको अवस्था झन् जटिल बनाएको आरोप मृतकका आफन्तले लगाएका छन्। उपचार प्रक्रिया विवादित बनेपछि अन्ततः सुरेश साह कानुको २०८१ साउन ३२ गते मृत्यु भएको थियो।

घटनापछि मृतकका परिवारले न्यायको माग गर्दै २०८१ पुस २८ गते नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गराएका थिए। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाएको काउन्सिलले चिकित्सकीय लापरबाही पुष्टि भएपछि अनुशासनात्मक कारबाही गरेको जनाएको छ।

प्रभु अस्पतालमा उपचारसम्बन्धी विवाद र गुनासाहरू यसअघि पनि बेलाबेलामा उठ्दै आएको बताइन्छ। पछिल्लो घटनाले निजी अस्पतालहरूको उपचार पद्धति, पारदर्शिता र नियमनमाथि गम्भीर प्रश्न खडा गरेको भन्दै सरोकारवालाहरूले कडा अनुगमन र जिम्मेवारी सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

content ad p2
content left

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily