
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि काठमाडौंको ग्वार्कोस्थित एक होटलमा अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु गरिएको छ।
सामाजिक सञ्जालमा मात्र देखेका धेरै सांसदहरूले पहिलोपटक प्रत्यक्ष भेटघाट गर्दै एकअर्कासँग चिनापर्ची गरेका छन्। कार्यक्रममा प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट जितेर ठूलो दल बनेको रास्वपाले आफ्ना सांसदलाई संसदीय अभ्यास, आचरण र भूमिकाबारे प्रशिक्षण दिन थालेको हो।
मोरङ–६ बाट निर्वाचित सांसद रुबिना आचार्यले कार्यक्रमले एकअर्कालाई बुझ्ने अवसर दिएको बताइन्। “समाचार र सामाजिक सञ्जालमा मात्र देखेका थियौं, प्रत्यक्ष भेटेर अनुभव साटासाट गर्न पायौं,” उनले भनिन्।
सर्लाही–१ बाट निर्वाचित नितिमा कार्कीले अभिमुखीकरणले सांसदको भूमिका, बोल्ने तरिका र जिम्मेवारीबारे स्पष्टता दिएको बताइन्। धादिङ–१ की सांसद आसिका तामाङले संसदमा कसरी प्रभावकारी ढंगले आवाज उठाउने भन्ने विषयमा सिक्ने अवसर पाएको उल्लेख गरिन्।

गोरखा–१ का सांसद सुधन गुरुङले प्रणाली सुधार मुख्य लक्ष्य रहेको बताए। “हामीलाई केही थाहा छैन भन्ने न्यारेटिभ सही होइन, सिक्दै काम गर्छौं,” उनले भने।
कञ्चनपुर–३ का सांसद ज्ञानेन्द्रसिंह महताले जनताको अपेक्षा पूरा गर्न आफूहरू जिम्मेवार भएर अघि बढ्ने बताए। “हामीलाई गल्ती गर्ने छुट छैन,” उनले भने।
उद्घाटन सत्रमा पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पदको गरिमा कायम राख्दै संविधान र कानुनको पालना गर्न निर्देशन दिए। उनले सांसदलाई जीवनशैली, आचरण, सम्पत्ति विवरण र सार्वजनिक व्यवहारमा सचेत रहन आग्रह गरे।
त्यस्तै उपसभापति डोलप्रसाद अर्यालले जनताको अपेक्षा अनुसार काम गर्न र सुशासन कायम गर्न सांसदहरूलाई निर्देशन दिए। उनले भ्रष्टाचार अन्त्य र प्रणाली सुधारमा जोड दिए।
कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह भने अनुपस्थित रहे। स्वास्थ्यका कारण उनीहरू उद्घाटन सत्रमा सहभागी नभएको जनाइएको छ।
रास्वपाको अभिमुखीकरण कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ। कार्यक्रममा विज्ञहरूले संसदीय अभ्यास, विधायकी प्रक्रिया, नीति निर्माण, बजेट तथा कानुन निर्माणलगायत विषयमा प्रशिक्षण दिनेछन्।

