
वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसअघि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु भएको छ।
निर्वाचन आयोगले गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगित गरेको थियो। आयोगको चैत १८ गते बसेको बैठकले पुनः प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेपछि आजदेखि काम सुरु गरिएको हो।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब नागरिकले अनलाइन प्रणालीमार्फत नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकले सोही विवरणका आधारमा अनलाइनबाट नाम दर्ता गर्न सक्नेछन्।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूले भने आयोगको ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्नेछ। त्यसपछि फोटो तथा औँठाछापसहितको जैविक विवरण दर्ता गर्न सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।
यसका साथै मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइसम्बन्धी विवरण अद्यावधिक गर्ने लगायतका सेवा पनि अनलाइनबाटै लिन सकिने व्यवस्था गरिएको छ।
नाम, थर, ठेगाना सच्याउने, पायक पर्ने मतदानस्थलमा नाम सार्ने तथा नागरिकताअनुसार विवरण मिलाउन पनि आवेदन दिन सकिने आयोगले जनाएको छ। आयोगले सम्पूर्ण योग्य नागरिकलाई मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।


