
वीरगञ्ज — गण्डक नहरस्थित तिलाबे खोलामा निर्माणाधीन बेलिब्रिज (फलामे पुल) जडान कार्य अत्यन्त सुस्त गतिमा अघि बढिरहेको पाइएको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण परियोजनाको भौतिक प्रगति हालसम्म करिब ३० प्रतिशतमा सीमित रहेको छ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगञ्ज अन्तर्गत निर्माण भइरहेको उक्त पुलको ठेक्का ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालि, लोकन्थली भक्तपुरले लिएको हो। कार्यालयका अनुसार करिब २ करोड ४६ लाख ६० हजार ८ सय १२ रुपैयाँ लागतको यो परियोजना २०२५ डिसेम्बर १५ देखि सुरु भई २०२६ मे १५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर हालको सुस्त प्रगतिले निर्धारित समयमै काम सकिनेमा अन्योल सिर्जना भएको छ।

तीन वर्षअघि असारमा आएको बाढीले सोही स्थानमा रहेको आरसीसी पुलमा क्षति पुर्याएपछि आवागमन प्रभावित भएको थियो। पुलको पिलर कमजोर बनेपछि जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। तर पनि स्थानीय पैदलयात्री, साइकल तथा मोटरसाइकल प्रयोगकर्ताहरू जोखिम मोलेर पुल प्रयोग गर्न बाध्य छन्।
जिल्ला सदरमुकाम वीरगञ्जलाई उत्तरी–पश्चिमी भेगसँग जोड्ने गण्डक नहरको एप्रोच सडकमा पर्ने यो पुल अत्यन्त महत्वपूर्ण मानिन्छ। यसबाट जिल्लाका करिब ४० प्रतिशत बासिन्दा आवतजावत गर्ने गर्छन्। निर्माण कार्यमा भइरहेको ढिलाइका कारण स्थानीयवासीले दैनिक सास्ती भोग्नु परेको गुनासो गरेका छन्।
स्थानीयका अनुसार यदि पुलमा थप क्षति पुगेमा गण्डक नहरको साइफनमा समेत असर पर्न सक्ने र सम्पूर्ण नहर प्रणाली नै अवरुद्ध हुने जोखिम बढ्दै गएको छ। सम्बन्धित निकायले निर्माण कार्य तीव्र पार्न आवश्यक पहल नगरे समस्या झन् जटिल बन्न सक्ने देखिन्छ।

