

काठमाडौं, २८ वैशाख — राष्ट्रिय परीक्षा बोर्ड ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमै सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो।
गत वर्ष २०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए। यस वर्ष कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३ सय ९२ जनाले ३.६० देखि ४.०० सम्म जीपीए हासिल गरेका छन्।
त्यस्तै, ३.२०–३.६० जीपीए ल्याउने ८० हजार ३७२, २.८०–३.२० ल्याउने ९४ हजार २२२ र २.४०–२.८० ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन्। २.००–२.४० जीपीए ल्याउने ५ हजार १९० र १.६०–२.०० ल्याउने ७ जना मात्र रहेका छन्।
प्रदेशगत रूपमा कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनीमा ४४ हजार २५६, कर्णालीमा १९ हजार ९५ र सुदूरपश्चिममा २१ हजार ६६४ विद्यार्थी ग्रेडेड भएका छन्।
परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार सरकारले दिएको ३० दिनभित्र नतिजा सार्वजनिक गर्ने निर्देशनअनुसार २९ दिनमै नतिजा प्रकाशित गरिएको हो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको उनले बताए।
यसअघि नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरेको थियो। विद्यार्थीमा अनावश्यक तनाव कम गर्न सरकारले समयसीमा घटाएको हो।
नतिजा सुधार हुनुमा विद्यार्थी र शिक्षकको प्रयास मुख्य कारण रहेको बोर्डको निष्कर्ष छ। प्राध्यापक विद्यानाथ कोइराला का अनुसार विद्यालयमै अतिरिक्त कक्षा सञ्चालन, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र प्रश्नपत्रको मोडेल पूर्व जानकारी जस्ता कारणले नतिजामा सुधार आएको हो।
यस वर्ष १ लाख ४६ हजार ५०७ विद्यार्थी नन-ग्रेडेड भएका छन्। मधेश प्रदेशमा सबैभन्दा बढी ३१ हजार ७२५ विद्यार्थी नन-ग्रेडेड रहेका छन्। अन्य प्रदेशहरूमा पनि उल्लेख्य संख्या नन-ग्रेडेड रहेको छ।
नन-ग्रेडेड विद्यार्थीको भविष्यबारे सरकार गम्भीर हुनुपर्ने सुझाव कोइरालाले दिएका छन्। “उनीहरूलाई सीपमूलक शिक्षा वा रोजगारीसँग जोड्ने नीति आवश्यक छ,” उनले भने।
बोर्डले अनुत्तीर्ण विद्यार्थीका लागि असार १ देखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन गर्ने जनाएको छ। साथै, नतिजामा चित्त नबुझेका विद्यार्थीका लागि जेठ १ देखि ७ गतेसम्म पुनर्योग (री-टोटलिङ) का लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हालसम्म सामुदायिक र निजी विद्यालयको छुट्टाछुट्टै नतिजा तथा ४.०० जीपीए ल्याउनेको संख्या भने सार्वजनिक गरिएको छैन। बोर्डले उक्त विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ।

