
वीरगंज महानगरपालिकाले असोज २३ र २४ गते १२ जना नगरप्रहरीसहित तीन दर्जनभन्दा बढी करार तथा दैनिक ज्यालादारीका कर्मचारीलाई सेवाबाट हटाएको छ।

महानगरपालिका स्रोतका अनुसार दरबन्दीबाहिरका कर्मचारी हटाउन सरकारले दिएको निर्देशनअनुसार कटौती गरिएको हो। तर निर्देशन आएको केही महिनापछि चाडपर्वको मुखमा निर्णय कार्यान्वयन गरिएकाले यसको समय र प्रक्रियाबारे प्रश्न उठेको छ।
महानगरपालिकामा अझै पनि दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको र कतिपय मौखिक आदेशका आधारमा काम गरिरहेको बताइएको छ। यस्तो अवस्थामा हटाइएका कर्मचारी छनोटको आधार र बाँकी कर्मचारीको व्यवस्थापनबारे स्पष्टता देखिएको छैन।
महानगरपालिकाले कर्मचारी कटौतीको मापदण्ड र निर्णयको आधार सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।

