Aadarsh-Daily

चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन सुरु

ad-4p

चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालनमा आएको छ । शुक्रबारबाट निजी क्षेत्रले विधिवत् रूपमा सञ्चालन गरेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालिले बन्दरगाह सञ्चालन गरेको हो ।

content ad p2
content left

यसका लागि गत १८ मंसिरमा नेपाल इन्टरमोडल यातायात विकास समिति र कम्पनीबीच सम्झौता भएको थियो । समितिको टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम सम्झौता भएको हो । उक्त सम्झौतामा समितिका निर्देशक युवक डंगोल र कम्पनीको म्यानेजिङ डाइरेक्टर मुकेशकुमार राठीले हस्ताक्षर गरेका थिए । कम्पनीले पाँच वर्षसम्म दुई करोड ८८ लाख रकम न्यूनतम पट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी सम्झौता गरेको छ । गजुरेलले भने, ‘भोलिका दिनमा जति धेरै ट्राफिक बढ्दै जान्छ, सोहीअनुसार हामी थप रकम पनि लिन्छौँ ।’

गत चैत ०७८ देखि समितिले सञ्चालन गर्दै आएको चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिने गरी ८ साउनमा ग्लोबल टेन्डर आह्वान गरेको थियो । त्यसमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवाले टेन्डर पेस गरेका थिए । त्यसमा ट्रान्स नेपाल छनोट भएको थियो । हाल देशका विभिन्न ठाउँमा सञ्चालन रहेका अन्य ६ वटा सुक्खा बन्दरगाह निजी क्षेत्रले नै सञ्चालन गरिरहेका छन् । काँकडभिट्टाको एक, तातोपानीको एक, वीरगन्जका दुई, विराटनगरको एक र भैरहवाको एउटा बन्दगाह निजी क्षेत्रले सञ्चालन गरिरहेको छ ।

देशको व्यापार सहजीकरणका लागि काठमाडांैमा व्यापारसम्बद्ध भौतिक पूर्वाधारको विकास गरी एकद्वार प्रणालीबाट आयात–निर्यातकर्तालाई सेवा प्रदान गर्ने तथा काठमाडौं प्रवेश गर्ने ढुवानी साधनलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल सरकारले चोभार सुक्खा बन्दरगाह निर्माण गरेको हो । तर, यो अझै प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । हालसम्मको यो नियमनकारी निकाय समितिले सधैँ सञ्चालन गर्न नसक्ने हुनाले बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन दिइएको हो । निजी क्षेत्रलाई सुम्पिएपछि यसको सञ्चालन प्रभावकारी हुने अपेक्षा गरिएको छ । यो बन्दरगाह सीमा क्षेत्रमा नभएर धेरै भित्र छ । यो अवस्थामा सरकारबाट यसको सञ्चालन प्रभावकारी रूपमा गर्न नसकिने निष्कर्षसहित निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिइएको हो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily