
बीरगंज / दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशको सामना गर्दैछ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । समूह चरणका खेलमा नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै अफगानिस्तानलाई जित्दै सुपर सिक्समा पुगेको हो

नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा आफ्नो पहिलो खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिर भएको छ ।भारत र पाकिस्तानले मंगलबार आ–आफ्नो खेल जितेर सेमिफाइनलको सम्भावना बलियो बनाएसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना टुंगिएको हो ।
दक्षिण अफ्रिकामा भइरहेको प्रतियोगितामा नेपालले बुधबार बंगलादेशसँग खेलेर सुपर सिक्स यात्रा सुरु गर्नेछ । ब्लोमफोन्टेनमै नेपालले शुक्रबार भारतसँग सुपर सिक्सको दोस्रो तथा अन्तिम खेल खेल्नेछ । तर त्यसअघि नै नेपालको सेमिफाइनल सम्भावना सकिएको हो । सुपर सिक्सको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रनले र पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराए ।
सुपर सिक्सको ग्रुप १ मा भारत र पाकिस्तानको ६–६ अंक पुगेको छ । बंगलादेश र न्युजिल्यान्डसँग २–२ अंक छ भने नेपाल र आयरल्यान्डसँग कुनै अंक छैन । समूह चरणमा भारत र पाकिस्तानले सबै ३ खेल जितेका थिए । त्यसक्रममा भारतले सुपर सिक्स पुगेका बंगलादेश र आयरल्यान्ड तथा पाकिस्तानले न्युजिल्यान्ड र नेपाललाई पराजित गरेको आधारमा टोलीसँग मजबुत ४ अंक रहेको थियो । त्यसैमा मंगलबारको जितले भारत र पाकिस्तानलाई सेमिफाइनल नजिक पुर्याएको हो ।
यस ग्रुप १ बाट बंगलादेशले मात्र भारत र पाकिस्तानको सेमिफाइनल यात्रामा अवरोध तेर्स्याउन सक्छ । बंगलादेशले नेपाल र पाकिस्तानसँग खेल्नेछ । समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित नेपालले अन्तिम खेलमा अफगानिस्तानमाथि १ विकेटको जित हात पार्दै सुपर सिक्स यात्रा गरेको थियो ।

