Aadarsh-Daily

जाँच पास नभएर वीरगञ्ज भन्सारमा थन्किए १२ सय सवारीसाधन

ad-4p

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँच पास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटो मोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँच पास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो ।

content ad p2

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँच पास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताए । ‘यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँच पास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँच पास गराउने प्रवृत्ति छ,’ उनले भने ।

कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँच पास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसै गरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ ।

अटोमोबिल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँच पास नभई थन्किरहेको बताउँछन् । ‘पहिला वीरगञ्ज भन्सार कार्यालयमा झन्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँच पास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही घटिरहेको छ’, उनले भने, ‘आर्थिक मन्दी र बैङ्क तथा वित्तीय संस्थाले सहज ढङ्गले सवारीसाधनमा लगानी नगर्दा पनि सवारीसाधन भन्सारमा नै रोकिएका हुन् ।’

content left

पूर्व अध्यक्ष थापाले भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारीसाधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले पनि बिस्तारै छुटाउने नीति लिँदै आएको बताए । प्रमुख भन्सार प्रशासक पन्थीले भन्सार यार्डमा सवारीसाधन जाँच पास नगरीकनै थन्किनुले सवारीसाधनको बजार सुस्ताएको सङ्केत गर्ने बताउँछन् ।

‘अहिले इन्धनबाट चल्ने सवारीसाधनको माग कम छ । त्यसैले पनि भन्सारमा रोकिरहेका सवारीसाधनको सङ्ख्या केही बढी देखिएको हो’, उनले भने, ‘भन्सार यार्डमा रोकिएका एक हजार दुई सय सवारीसाधनको जाँच पास हुने हो भने कम्तीमा पनि १० अर्ब हाराहारीको राजस्व सङ्कलन हुनेछ ।’

वीरगञ्ज भन्सार कार्यालयमा भन्सार जाँच पास नभई रोकिएका सवारीसाधनमध्ये अधिकांश व्यावसायिक प्रयोजनका लागि ल्याइएका छन् । भाडाका बस, पिकअपलगायत छन् ।

‘अहिले यहाँका मान्छेको क्रय क्षमता निकै घटेको छ । अहिले आर्थिक मन्दीका कारण गाडी किन्ने क्षमतामा मान्छे पुगिसकेका छैनन्’, पूर्व अध्यक्ष थापाले भने, ‘अहिले व्यावसायिक गाडीबाट खासै कमाइ छैन । त्यही कारणले पनि व्यावसायिक प्रयोजनका सवारीसाधनको खरिद गर्न व्यवसायी अनिच्छुक छन् ।’ उनका अनुसार बैङ्क तथा वित्तीय संस्थाले पनि निश्चित प्रकृतिका सवारीसाधनबाहेक अन्यमा फाइनान्सिङ गर्न हिचकिचाइरहेका छन् ।

‘नयाँ सवारीसाधन खरिद गर्नेले अहिले ५० प्रतिशत नगद लगानी गर्नुपर्ने हुन्छ’, उनले भने, ‘बैङ्क तथा वित्तीय संस्थाले सवारीसाधनमा ५० प्रतिशत लगानी गर्नसमेत आनाकानी गरिहरेकाले केही समस्या भएको हो ।’

विगतमा इन्धनबाट चल्ने सवारीसाधनमा सवारीसाधनको कुल लागतको ७०–८० प्रतिशतसम्म ‘फाइनान्सिङ’ गर्ने व्यवस्था थियो । त्यस बेला ‘डाउन पेमेन्ट’ भने २०–३० प्रतिशत तिरे मात्रै पुग्ने गर्थ्यो । यद्यपि अहिले पनि विद्युतीय सवारीसाधनमा भने बैङ्क तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आइरहेका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily