
वीरगञ्ज । अब कक्षा १२ पास गरेका विद्यार्थीहरूले २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् ।
प्रा. डा. कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ ।

चैत ९ गते बसेको आयोगको १३औँ बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कक्षा १२ पछि स्वास्थ्य कार्यक्रम सुरु गर्न लागिएको आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले बताए ।
हाल माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेपछि सीटीईभीटी अन्तरगतको प्रवीणता प्रमाणपत्र (पीसीएल) ३ वर्षे नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो शैक्षिक कार्यक्रम तीन वर्षे हो । यस्तै पीसीएल गरेपछि ३ वर्षे ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) अध्ययन गर्न पाइन्छ ।
त्यसै गरी विज्ञान सङ्काय लिएर कक्षा १२ पास गरेका विद्यार्थीका लागि चार वर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालन छ ।

