Aadarsh-Daily

आज विश्व योग र संगीत दिवस मनाइँदै

ad-4p

काठमाडौं । हरेक वर्षको जुन २१ का दिन मनाइने अन्तर्राष्ट्रिय योग दिवस तथा अन्तर्राष्ट्रिय संगीत दिवस आज शुक्रवार मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको हो । यस अवसरमा आज विभिन्न कार्यक्रमगरी योग दिवस मनाइँदै छ । यसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना भैसकेका छन् भने आज विभिन्न कार्यक्रमबीच योग र संगीत दिवस मनाइँदैछ ।अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।

content ad p2

प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् । योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ ।

हरेक वर्ष जुन २१ का दिन विशेष सांगीतिक कार्यक्रम आयोजना गर्दै विश्व संगीत दिवस मनाइन्छ । फ्रान्सको पेरिसबाट ‘फेट डे ला म्युजिक’ नामले प्रारम्भ भएको यो महोत्सवलाई हाल विश्वका हरेक देशमा विश्व संगीत दिवसको रूपमा मनाउने गरिएको छ । सन् १९८२ को जुन २१ मा पहिलो पटक विश्व संगीत दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा यो दिवस मनाइँदै आइएको छ । संगीतसँग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न ११० भन्दा बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । नेपालमा विसं २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको हो ।

content left

संगीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, रचनाकार, संगीतकार तथा संगीतप्रेमीहरूको सहभागितामा यो दिवस मनाउने गरिन्छ । संगीतलाई विश्वव्यापी भाषा मानिन्छ । २१ जुनको दिन वर्षको सबैभन्दा लामो दिन पनि हुने गर्छ । संगीत र योगले पनि मानिसलाई दीर्घजीवन प्रदान गर्ने गर्दछ । संगीत दिवसको अवसर पारेर आज काठमाडौंका कमलादीस्थित स्काइ वाक टावसरमा दिउँसो २ बजेपछि विशेष सांगीतिक कार्यक्रम आयोजना गरिँदैछ ।

नेपाल सांगीतिक संघले आयोजना गर्ने यो कार्यक्रममा विभिन्न संगीतकर्मीहरुलाई पुरस्कार, सम्मान प्रदान गरिँदैछ भने लोकप्रिय गायक–गायिकाहरुले गीत संगीत प्रस्तुत गर्दैछन् । वर्षकै लामो दिन आगामी शुक्रवार अर्थात् असार ७ (जुन २१) मा काठमाडौंको कमलादीस्थित स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल हुने भएको छ । विश्व संगीत दिवसको अवसर पारेर नेपाल सांगीतिक संघ र स्काई वाक टावर सञ्चालक वन्डर्स नेपालले फेस्टिभल आयोजना गर्न लागेको हो ।

आयोजकका अनुसार फेस्टिभलमा संगीत क्षेत्रका स्रष्टाहरुलाई सम्मान पनि गरिनेछ । जसअनुसार कला साधक तथा संगीतकार सीके रसाइलीलाई ‘शिव शंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ गीतकार कालीप्रसाद रिजाललाई ‘रत्न शमशेर थापा राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ गायिका मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ ओमविक्रम विष्टलाई ‘पुष्प नेपाली राष्ट्रिय सांगीतिक तथा सम्मान पुरस्कार,’ राजेशपायल राईलाई ‘फत्तेमान राजभण्डारी राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ देव रानालाई ‘शुभबहादुर सुनाम राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ विजय लामालाई ‘लाल समुद्र स्मृति राष्ट्रिय बहुप्रतिभा सांगीतिक सम्मान तथा पुरस्कार,’ सुरेन्द्र श्रेष्ठलाई ‘नेपाल सांगीतिक संघ राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार’ र भैरवबहादुर थापालाई ‘राजेश–लक्ष्मी नृत्य गुरु विशिष्ट सम्मान तथा पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कारमा सम्मानपत्र र नगदराशि जनही २५ हजार रुपैयाँ छ ।

कार्यक्रममा ओमविक्रम विष्ट, राजेशपायल राई, लाक्पा शेर्पा, सूर्य थुलुङ, प्रदीपराज पाण्डे, मनोज गुरुङ, यम बराल, राजनराज शिवाकोटी, धिरज राई, सत्यराज आचार्य, स्वरुपराज आचार्य, आनन्द कार्की, उदेश श्रेष्ठ, विश्व नेपाली, सुरज थापा, दिलिप लामा, दीपक लिम्बू, दावा फिन्जो लामा, भीषण मुकारुङले प्रस्तुति दिनेछन् । त्यस्तै टीका प्रसाई, विकास लामा, देव राना एण्ड द जेन्टलमेन ब्याण्ड, आशिष अविरल, गणेश पराजुली, यशोदा पराजुली, देविका बन्दना, सहिमा श्रेष्ठ, प्रकाश तिमिल्सिना लगायतले पनि सांगीतिक प्रस्तुति दिने जनाइएको छ । कार्यक्रमको व्यवस्थापन साधना कला केन्द्रले गर्ने भएको छ । कार्यक्रममा विभिन्न प्रकारका खाद्य परिकारको स्टल पनि रहने आयोजकले जनाएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily