
बारा । पत्रकार दिवाकर भण्डारी ‘घण्टीमाई सहकारी पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित भएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहस्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको १२औं वार्षिक साधारणसभाको अवसरमा भण्डारीलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
समारोहमा अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्यासिफिकका संचालक सदस्य मिनराज कंडेल, संस्थाकी अध्यक्ष कोपिला सिंखडा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी लगायतको उपस्थिति रहेको थियो। पत्रकारितामार्फत सहकारी र सामाजिक क्षेत्रमा योगदान पुर्याएकोमा भण्डारीलाई सम्मान गरिएको संस्थाले जनाएको छ।

भण्डारी १६ वर्षदेखि अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत छन् भने बाराबाट प्रकाशित इशिालेख डट कम र सूचनालय साप्ताहिकका संचालकसमेत रहेका छन्। यसअघि पनि उनले हातेमालो सहकारी पत्रकारिता सम्मान, साना किसान सहकारी पत्रकारिता सम्मान, सिमरा महिला सहकारी पत्रकारिता सम्मानजस्ता सम्मानहरू प्राप्त गरिसकेका छन्।
साधारणसभामा जेष्ठ शेयर सदस्य, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट ऋण लिनेहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रम संस्थाकी अध्यक्ष कोपिला सिंखडाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव त्रिलोक बिक्रम शाहले कार्यक्रम सञ्चालन गरेका थिए।

