Aadarsh-Daily

संविधान संशोधनमा सत्तारूढ दलबीच छलफल जारी : कानुन मन्त्री अजय चौरसिया

ad-4p

वीरगञ्ज । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले संविधान संशोधनको विषयमा सत्तारूढ दलहरूबिच गम्भीर छलफल भइरहेको बताएका छन् ।

content ad p2

नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री चौरसियाले संविधान संशोधनलगायतका विषयमा काँग्रेस र एमालेबिच सात बुँदे सहमति कायम भएकै कारण अहिलेको सत्ता गठबन्धन बनेको स्पष्ट पारे । बाहिर प्रचारमा आएजस्तो सत्तारूढ दलहरूले संविधान संशोधनको मुद्दाबाट पछि नहटेको उनले उल्लेख गरे ।

content left

उनले भने, “कुन-कुन विषयमा संविधान संशोधन गर्ने भन्नेबारे सत्तारूढ दलहरूबिच आन्तरिक छलफल भइरहेको छ । यो छलफलपछि विपक्षी दलहरूसँग पनि संवाद र सहमति गरिनेछ ।”
मन्त्री चौरसियाले संविधान संशोधन हतारमा गर्न नहुने बताउँदै सबै राजनीतिक दलहरूबिच साझा सहमतिबाट मात्र संशोधन अघि बढाइने जानकारी दिए ।
मन्त्री चौरसियाले वर्तमान सरकारका प्रमुख घटकहरू नेपाली काँग्रेस र एमालेबिच कुनै मनमुटाब नभएको र सहकार्य मजबुत रहेको दाबी गरे । “यो सरकार दुई ठूला दलहरूको सहकार्यमा बनेको हो, र यो गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहन्छ,” उनले भने । सत्ता गठबन्धनमा चाँडै कुनै फेरबदल नहुने आश्वासनसमेत उनले दिए ।

संविधान संशोधन, सुशासन प्रवर्धन र अर्थतन्त्रलाई पुनः चलायमान बनाउनेजस्ता मुद्दामा वर्तमान सत्ता गठबन्धनको ध्यान केन्द्रित रहेको उनले बताए । चौरसियाले भने, “यी लक्ष्य पूरा भएपछि मात्रै नयाँ राजनीतिक समीकरणको सम्भावना आउन सक्छ ।”

मन्त्री चौरसियाले वर्तमान सरकारको तीन महिनाको कार्यकाललाई सफल भन्दै जनताका असन्तुष्टिहरू क्रमशः सम्बोधन गरिँदै गएको बताए । विशेषतः १५ वर्षदेखि अड्किएको ट्रुथ एन्ड रिकन्सिलिएसन (टीआरसी) विधेयक सांसदबाट सर्वसम्मतिले पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण हुनु कानुन मन्त्रालयको ठूलो उपलब्धि भएको उनले दाबी गरे ।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली काँग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, बहुदरमाई नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह, पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव, र प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझीको समेत सहभागिता थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily