

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी प्रहरी भद्रकाली काठमाडौंले बयानका लागि रम्तेललाई गत शनिबार पोखराबाट काठमाडौं ल्याएको हो ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि रम्तेललाई काठमाडौं झिकाइएको हो ।
परिसर स्रोतका अनुसार उनको बयान अन्तिम चरणमा पुगेकाले आज/भोलि नै पोखरा फिर्ता गराउने तयारी गरिएको छ । रम्तेल गत २५ भदौमा पक्राउ परेका थिए ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए ।
आइतबार काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले रवि र छवीविरुद्ध पक्राउ पूर्जी जारी गरेका थिए ।
यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।
यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् ।
यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

