
लामो समयदेखि प्रतीक्षित मालपोत तथा नापी कार्यालयको सेवा पोखरियामा आजदेखि सञ्चालनमा आएको छ । सेवा केन्द्रको आज उद्घाटन भएसंगै सञ्चालनमा आएको हो । यो सेवाको सुरुवातसँगै साना ठूला मालपोत तथा नापीसम्बन्धी कामका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यता हट्ने भएकाले स्थानीय बासिन्दा हर्षित छन् ।

विशेषगरी ग्रामीण भेगका जनताका लागि सेवा सहज हुने अपेक्षा गरिएको छ ।
सेवा केन्द्रको उद्घाटन नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, खानेपानी मन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले संयुक्त रूपमा गर्नुभएको छ ।
यस सेवा केन्द्रको स्थापनासँगै, पोखरिया क्षेत्रका नागरिकले जग्गा नापजाँच, मालपोत तिर्ने, नामसारीलगायतका सेवा स्थानीय तहमै पाउने भएका छन् । यसले नागरिकलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

