
मधेश प्रदेशको बारा जिल्लास्थित कलैया उपमहानगरपालिका–१ बालमन्दिर सडक खण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक ६ वर्षीया बालिकाको ज्यान गएको छ।
दिउँसो करिब ३:२० बजे वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना.१ क ८०५६ नम्बरको टिप्परले बाटो क्रस गर्दै गरेकी सिवानी गुप्तालाई ठक्कर दिएको हो। गम्भीर घाइते भएकी सिवानीलाई तत्कालै उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पताल पुर्याइएको थियो। त्यसपछि थप उपचारका लागि परवानिपुरस्थित एल.एस. न्युरो अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

मृतक सिवानी गुप्ता भारतको मोतिहारी, आठ मुहान निवासी हरेराम साहकी छोरी हुन्। उनी हाल कलैया उपमहानगरपालिका–१ मोतिबाघस्थित डेरामा बसोबास गर्दै आएकी थिइन्।
दुर्घटनापछि टिप्परका चालक सत्य नारायण साह (३७ वर्ष) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी कलैया उपमहानगरपालिका–१८ का बासिन्दा हुन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
बालिका सिवानीको शव हाल एल.एस. न्युरो अस्पतालमै राखिएको छ।

