
मलेशियामा जारी एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेशियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ।
क्वालालम्पुरमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका बलरले प्रभावशाली प्रदर्शन गर्दै मलेशियालाई ४३ ओभर एक बलमै ९० रनमा समेटेका हुन्। मलेशियाका तर्फबाट मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रनको योगदान दिए। नेपालका अभय यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने शुभम् खनालले ३ विकेट हात पारे।

यस प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा अहिले सिङ्गापुर र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपाल यसअघि समूह ‘ए’ का तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले, दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको थियो। समूह ‘ए’ बाट नेपाल शीर्ष स्थानमा रहँदा सिङ्गापुर दोस्रो भएको हो।
त्यस्तै, समूह ‘बी’ मा हङकङ पहिलो र मलेशिया दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन्। १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल आगामी शनिबार हुनेछ।

