
लामो समयदेखि विभिन्न आपराधिक मुद्दामा फरार रहेका चार जना अभियुक्तलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–३, सुभाषनगरका ५५ वर्षीय मोहन पासवान, कलैया–१२ का ५५ वर्षीय जयसवाल गिरी, परवानीपुर गाउँपालिका–२ का २८ वर्षीय रवि कुमार गोंड र कलैया–३ का ३५ वर्षीय कालु चौधरी मगर उर्फ मुन्ना मगर रहेका छन् ।

उनीहरूमाथि लागु औषध कारोबार र जबरजस्ती करणी जस्ता मुद्दामा संलग्न रहेको आरोप छ । यिनलाई सम्बन्धित इलाकाबाट पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) विजयराज पण्डितका अनुसार फरार अभियुक्तहरूलाई खोजी गर्न प्रहरी कार्यालय बाराले विशेष निगरानी राख्दै आएको थियो । उनले भने, “समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न यस्ता अपराधीलाई नियन्त्रणमा लिने कार्यलाई अझ तीव्र बनाइनेछ ।”
पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत बाराले सम्बन्धित मितिमा पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरूमाथि अब अदालतको प्रक्रिया अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

