
रुसले युक्रेनको दक्षिणपूर्वी सीमावर्ती क्षेत्र जापोरिजियास्थित जेलमा गरेको हवाई आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । बीबीसीले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार आक्रमणमा ज्यान गुमाउने र घाइते हुने सबै जना कैदी थिए ।
क्षेत्रीय नेता इभान फेडेरोभका अनुसार रातभर भएको आक्रमणमा रूसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरेका थिए, जसका कारण नजिकैका आवासीय घरहरूमा समेत क्षति पुगेको छ । उनले बताएअनुसार कुल आठवटा हवाई आक्रमण भएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले जानाजानी जेललाई निशाना बनाएको आरोप लगाउँदै घटनाको कडा निन्दा गर्नुभएको छ । उहाँले रुसले निर्दोष युक्रेनीहरूको हत्या गरिरहेको गम्भीर आरोप पनि लगाउनुभएको छ ।
युक्रेनको न्याय मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार जेलमा चार वटा शक्तिशाली विस्फोट भएका थिए, जसले भोजन कक्ष, प्रशासनिक भवन र क्वारेन्टाइन क्षेत्र पूर्ण रूपमा ध्वस्त बनाएका छन् ।
जापोरिजिया क्षेत्र सन् २०२२ देखि रुसले आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको भए पनि वास्तविक नियन्त्रण भने धेरैजसो युक्रेनी पक्षमै रहेको छ ।
आक्रमणपछि युक्रेनभित्र तथा अन्तर्राष्ट्रिय रूपमा रुसको आलोचना चुलिएको छ । घटनाले युद्धसम्बन्धी अन्तर्राष्ट्रिय मानव अधिकारको उल्लंघन भएको भन्दै विभिन्न मानव अधिकार संस्थाहरूले पनि ध्यानाकर्षण गराएका छन् ।

