
घानाको अशान्ति क्षेत्र अदांसीमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा रक्षामन्त्री, वातावरणमन्त्रीसहित ८ जनाको ज्यान गएको छ। एपी समाचार संस्थाका अनुसार यो पछिल्लो दशकको सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक हो।
मृतकहरूमा रक्षामन्त्री एडवार्ड ओमाने बोआमह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मद, सत्तारूढ पार्टी नेशनल डेमोक्रेटिक कंग्रेसका उपाध्यक्ष सामुएल सर्पोङ, राष्ट्रिय सुरक्षा सल्लाहकार मुनीरु मोहम्मद र ४ जना चालक दलका सदस्य छन्।

हेलिकोप्टर राजधानी अक्राबाट सुन खनन क्षेत्र ओबुआसीतर्फ जाँदै गर्दा सम्पर्कविहीन बनेको थियो। केही घण्टापछि यसको भग्नावशेष जङ्गल क्षेत्रमा भेटिएको हो। दुर्घटनास्थलमा हेलिकोप्टरका जलेका टुक्राहरू देखिएको भिडिओ सार्वजनिक भएको छ।
सरकारले दुर्घटनालाई ‘राष्ट्रिय शोक’ घोषणा गरेको छ भने रक्षामन्त्रीको निवास र पार्टी कार्यालयमा श्रद्धाञ्जली दिनेको भीड लागेको छ।
Z9 मोडलको हेलिकोप्टर दुर्घटनाको कारण खुल्न बाँकी छ। सेनाले छानबिन प्रक्रिया शुरू गरेको जनाएको छ।

