
रौतहटको गौर नरसंहार प्रकरणमा सर्वोच्च अदालतले पुनः छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएपछि रौतहट र वीरगञ्ज दुवै ठाउँमा विरोध प्रदर्शन गरिएको छ।
रौतहटको सदरमुकाम गौरमा आज स्थानीयले टायर बालेर शान्तिपूर्ण विरोध गरेका छन्। यस्तै वीरगञ्जमा पनि विभिन्न समूहले सडकमा टायर बाल्दै सर्वोच्चको आदेशविरुद्ध नाराबाजी गरेका छन्।

२०६३ साल चैत ७ गते गौरस्थित राइस मिल प्राङ्गणमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच एउटै स्थानमा कार्यक्रम गर्न खोज्दा झडप भएको थियो। उक्त घटनामा माओवादी पक्षका २७ जना नेता तथा कार्यकर्ताको ज्यान गएको थियो।
पीडित परिवारहरूले त्यसबेलादेखि नै घटना छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए। सर्वोच्चको पछिल्लो आदेशले पुनः विवादलाई चर्काएको छ भने मधेसका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ।


