
वीरगंज — जिल्ला प्रशासन कार्यालय पर्साले दीपावली, छठ लगायत चाडपर्वमा पटका पड्काउन पूर्ण प्रतिबन्ध लगाएको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले आइतबार जारी गरेको सूचनामा भनिएको छ —
‘दीपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउनुहोस्, पटका ओसारपसार, बिक्री वा व्यापार नगर्नुहोस्।’

सूचनामा भनिएको छ, पटका पड्काउँदा ठूलो आवाजले मानव स्वास्थ्यमा असर, समाजमा भय र त्रास सिर्जना हुने तथा आगोको झिल्काले आगलागीको जोखिम बढ्ने भएकाले यस वर्ष पटका पड्काउने कार्य निषेध गरिएको हो।
यसलाई उल्लङ्घन गर्ने व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।
त्यसैगरी, रातिको समयमा सुरक्षालाई ध्यानमा राख्दै देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको छ। सो समयपछि खेलिने देउसी–भैलो बन्द गरिने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासनले चाडपर्वका नाममा जुवातास खेल्ने, खेलाउने कार्य नगर्न पनि आग्रह गरेको छ।
त्यस्तै, सार्वजनिक विदाको दिन सरकारी सवारीसाधन अत्यावश्यक सेवा बाहेक नचलाउन अनुरोध गर्दै प्रशासनले सबै पक्षलाई शान्तिपूर्ण र सुरक्षित रूपमा पर्व मनाउन अपिल गरेको छ।

