
नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ प्रयोग गरेवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् आपूर्ति कटौती गरेको छ । यसअघि ६ वटा उद्योगको लाइन काटिएकोमा गएराति प्राधिकरणले थप १८ उद्योगको बिजुली जडान बन्द गरेको हो ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार विद्युत् आपूर्ति कटौती गरिएका उद्योगमा पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्स रहेका छन् ।
यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति कटौती गरिएको थियो । प्राधिकरणका अनुसार यी उद्योगहरूमध्ये केहीले किस्तामा भुक्तानी सुरु गरेका छन् भने केही कानुनी प्रक्रियामा गएका छन् ।

प्रवक्ता ढकालका अनुसार, “डेडिकेटेड फिडर र ट्रङ्कलाइन प्रयोग गरेर महसुल तिर्न बाँकी १४ उद्योगले किस्तामा भुक्तानी गर्न थालेका छन् भने ६ उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् । हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टको पनि बक्यौता रहेको छ,” उनले बताए ।
डेडिकेटेड र ट्रङ्कलाइन महसुल उठाउने विवाद सन् २०७५ सालदेखि नै समाधान हुन सकेको छैन । तत्कालीन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा बनेको समितिले पहिलोपटक बक्यौता अध्ययन गरेको थियो । त्यसयता प्राधिकरणले महसुल उठाउन पटक–पटक प्रयास गर्दै आएको छ ।
उद्योगी–व्यवसायीहरूले भने आफूहरूले डेडिकेटेड वा ट्रङ्कलाइन प्रयोग नगरेकाले त्यसको महसुल तिर्नुपर्ने कारण नदेखिएको दाबी गर्दै आएका छन् ।
प्राधिकरणले गत असोज १२ गते २१ दिनभित्र बक्यौता बुझाउन उद्योगहरूलाई सूचना जारी गरेको थियो । तर सो अवधिसम्म भुक्तानी नगरेपछि विद्युत् महसुल सङ्कलन नियमावली, २०७८ अनुसार लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

