
छठ पूजाको पावन अवसरमा वीरगञ्जको घडिअर्वा स्पोटर्स क्लबले यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ । धार्मिक आस्था र सामाजिक सेवाको भावना सँगसँगै अघि बढाउने उद्देश्यका साथ क्लबले हरेक वर्षझैँ यस पटक पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
क्लबका अध्यक्ष सन्तोष साह कानुका अनुसार रक्तदान कार्यक्रम शनिवार बिहान वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा पोखरी परिसरमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा ३ महिला सहित ६३ जनाले रक्तदान गरेको घडिअर्वा छठ पूजा समितिका अध्यक्ष राकेश साहले जानकारी दिए । उनका अनुसार स्थानीय युवाको सक्रिय सहभागिताका कारण कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष कानुका भनाइमा, “धार्मिक श्रद्धा र सामाजिक उत्तरदायित्वलाई जोड्ने लक्ष्यका साथ हामीले विगत २३ वर्षदेखि प्रत्येक वर्ष छठ पर्वमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छौँ।”
छठ पूजालाई नेपालकै साझा पर्वको रूपमा स्थापित गर्ने अभियानमा घडिअर्वा स्पोटर्स क्लबको निरन्तर योगदान रहेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक संस्कारसँगै सामाजिक चेतनाको सन्देश दिने यस अभियानले वीरगञ्ज क्षेत्रमै उदाहरणीय परम्परा स्थापित गरेको जनाइएको छ ।

