

गृहमन्त्री सुधन गुरुङ ले देशभर मापदण्डविपरीत र अवैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर उद्योगहरू तत्काल बन्द गर्न कडा निर्देशन दिएका छन्।
गत वर्षको विनाशकारी बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक को रोशी क्षेत्रको स्थलगत अनुगमनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्। रोशी खोलामा भएको अनियन्त्रित गिट्टी–बालुवा उत्खननकै कारण बाढीपहिरोको जोखिम बढेको र ठूलो जनधनको क्षति भएकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे।
अनुगमनकै क्रममा मन्त्री गुरुङले विगतमा राजनीतिक ‘सेटिङ’ का कारण क्रसर उद्योगहरू अवैध रूपमा सञ्चालन हुन दिएको आरोपसमेत लगाए। “अब यस्ता गतिविधि कडाइका साथ रोकिन्छन्, सबै उद्योगलाई छानबिनको दायरामा ल्याइन्छ,” उनले भने।
पनौती को रोशीखोला क्षेत्रमा अहिले दर्जनौं क्रसर तथा खानी उद्योग सञ्चालनमा छन्, जसले उक्त क्षेत्रलाई उच्च प्राकृतिक जोखिममा पुर्याएको छ।
गत वर्ष असोज दोस्रो साता आएको भीषण बाढीपहिरोले पनौती नगरपालिकामा एक विदेशी नागरिकसहित २० जनाको ज्यान लिएको थियो भने एक जना अझै बेपत्ता छन्। नगरको तथ्यांकअनुसार उक्त विपद्बाट ५८६ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ९४४ घर अझै उच्च जोखिममा रहेका छन्।
गृहमन्त्री गुरुङले प्राकृतिक स्रोतको जथाभावी दोहन नै यस्ता विपत्तिको मुख्य कारण भएको उल्लेख गर्दै भविष्यमा क्षति न्यूनीकरणका लागि सरकारले कानुनी मापदण्ड कडाइका साथ लागू गर्ने स्पष्ट पारे।

