
वीरगञ्ज : वीरगञ्ज नाकास्थित शंकराचार्य गेटमा जनअधिकार पार्टीले आइतबार भन्सार नियमको विरोधमा धर्ना दिएको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार कर तिर्नुपर्ने व्यवस्थाको विरोधमा पार्टीका अध्यक्ष डा. शरदसिंह यादवको नेतृत्वमा नेता–कार्यकर्ताले करिब एक घण्टा सडकमै धर्ना दिएका हुन्।
धर्ना कार्यक्रममा अध्यक्ष यादवले सरकारले भन्सार करको नाममा नेपाल–भारतबीचको रोटीबेटी सम्बन्धमै असर पार्ने नियतले ‘हास्यास्पद’ नियम लागू गरेको आरोप लगाए। उनले विशेषगरी मधेस क्षेत्रका सीमावर्ती नागरिकलाई सास्ती दिनेगरी ल्याइएको उक्त नियम तत्काल खारेज गर्न माग गरे।

उनले मधेसी मूलका व्यक्तिको नेतृत्वमा सरकार बनेपछि मधेसका जनता उत्साहित भए पनि छोटो समयमै यस्तो नियम ल्याइनु दुःखद भएको बताए। साथै, महँगी नियन्त्रणमा सरकार असफल भएको उल्लेख गर्दै खाद्यान्न, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दै गएको तर सरकार कर असुलीमै केन्द्रित रहेको टिप्पणी गरे। उनले उक्त व्यवस्थालाई “मधेसमाथिको अघोषित नाकाबन्दी” समेत भने।
केही दिनयता सरकारले नेपाल–भारत सीमानाकामा राजस्व चुहावट रोक्ने उद्देश्यले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार कर तिर्नुपर्ने नियम कडाइका साथ लागू गरेको छ। यसले सीमावर्ती क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
भन्सार महसुल ऐन, २०८१ को दफा १३ (३) अनुसार उक्त व्यवस्था २०८० जेठ १५ गतेदेखि नै लागू भए पनि व्यवहारमा कार्यान्वयन भने हालबाट कडाइका साथ सुरु गरिएको हो।

