

वीरगन्ज : पर्सा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) सुशील कुमार कानु आफ्नै गृह वडामा सम्मानित भएका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा शनिबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सांसद कानुलाई दोसल्ला ओढाएर र प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको हो।
कार्यक्रममा वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष सन्तोष जैसी, वडा सदस्यहरू प्रभु महतो, मिश्रादेवी नगरकोटी, प्रमिला देवी तथा वडा सचिव पवन प्रधानले संयुक्त रूपमा सांसद कानुलाई सम्मान गरेका थिए।
सम्मान ग्रहणपछि बोल्दै सांसद कानुले आफू पहिले वडाध्यक्षकै रूपमा काम गरेको कार्यालयबाटै पुनः सम्मानित हुन पाउँदा गर्व महसुस भएको बताए। उनले आफ्नो गृह वडा भएकाले यहाँको विकास निर्माण र नागरिक सेवामा सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यवाहक वडाध्यक्ष जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ता लगायतको सहभागिता रहेको थियो।

