
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं–तिहारमा चिनीको अभाव हुन नदिन झन्डै २२ हजार क्विन्टल चिनी मौज्दात राखेको जनाएको छ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सरकारले उपलब्ध गराएको २५ हजार क्विन्टल चिनीमध्ये १० हजार क्विन्टल आइसकेको छ भने बाँकी १५ हजार क्विन्टल आवश्यकताअनुसार ल्याउने तयारी भइरहेको छ।
सरकारले उपलब्ध गराएको चिनी काठमाडौं उपत्यकामा प्रतिकिलो १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँमा बिक्री भइरहेको छ। कम्पनीले खुद्रा बिक्रीका साथै डिलर, सहकारी र साझेदार संस्थामार्फत चिनी वितरण गरिरहेको छ।
कम्पनीले साउन २८ देखि देशका ४४ जिल्लाका १९३ स्थानमा सहुलियत पसल सञ्चालन गरिरहेको छ। तर, चिनीमा दिइँदै आएको छुट भने हाल बन्द गरिएको मिश्रले बताएका छन्।

