
वीरगञ्ज ३ असार । नेपालले एसीसी महिला टी-ट्वेन्टी च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।
मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो ।
भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन । भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिईन । कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सिता राना मगर र इन्दु वर्माले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन भने इन्दु बर्माले २० रन बनाइन् । कप्तान रुबिना क्षेत्रीले २१ रन जोडे भने डोली भट्टले ५ रन बनाइन् । सिता मगरले ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे सुन्य रनमा आउट भए । कविता कुँवर १ रनमा अविजित रहिन् ।
भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले १-१ विकेट लिए । च्याम्पियनसिप अन्तर्गत नेपालले अब शनिबार कुवेतसँग, सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह बी मा छ ।
नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ

