
वीरगंज । पर्साको विभिन्न ठाउँमा अवैध तरिकाले लगाईएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । पर्सामा फेरी गाँजा खेती फस्टाएको जानकारी भएपछि प्रहरीले विभिन्न ठाउँमा लगाईएको गाँजा खेती नष्ट गरेको हो ।
पर्साको जीराभवानी गाउँपालिका १ मा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट पारेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी महादेवपट्टीको संयुक्त प्रहरी टोलीले एक कट्ठा खेतमा लगाइएको लागुऔषध गाँजा खेती फडानी गरेको हो ।

यसैगरि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र रङ्गपुर प्रहरी चौकिको सयुंक्त टोलीले पटेर्वासुगौली वडा नं. २ बेलवामा १० धुर क्षेत्रफलमा लगाइएको गाँजा खेति नष्ट गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
पछिल्लो समय पर्सामा ग्रामिण भेगमा गाँजा खेती होडबाजी नै चलेको जानकारी पछि गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत बुधबार पनि पर्साको ठोरी गाउँपालिका वडा नं.३ र ४ स्थित १० कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजा खेतीलाई प्रहरीले नष्ट गरेको थियो । गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी राखेको डिएसपी थापाले बताए । उनले गाँजा खेती गर्नेहरुलाई कानुन बमोजिम कारवाही गरिने बताए ।
खासगरि राष्ट्रिय वन र निकुञ्जसंग जोडिएको गाउँहरुमा लुकाई छिपाई अहिले व्यापक रुपमा गाँजाको खेती गरिएको छ । उक्त क्षेत्रको जनप्रतिनिधीकै संरक्षणमा गाँजा खेती भएको बुझिएको छ ।
विगत एक दशक भन्दा बढिदेखी गाँजाको खेती बन्द भएका कारण पर्सामा गाँजाको बिउको अभाव भएपछि यहाँका किसानले मकवानपुर र धादिङ्गका पहाडी गाउँबाट बिउ ल्याएर गाँजा रोपेका हुन् । अहिले पर्साको बिजयबस्ती, निर्मलबस्ती, रामनगर, गादी, शंकरसरैया, पटेर्वा सुगौली लगायतका गाउँमा गाँजा खेती गरिएको बताईन्छ ।

