Aadarsh-Daily

महिनावारी हुँदा पनि बिदा

ad-4p

काठमाडौँ । सरकारी महिला कर्मचारीहरूले अबदेखि महिनावारी (पिरियड्स) बिदा पनि पाउने भएका छन्। महिला कर्मचारीहरूका लागि लुम्बिनी प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो। लुम्बनी सरकारले प्रदेश निजामती सेवा ऐन जारी गरेर महिला कर्मचारीका लागि थप बिदाको व्यवस्था गरेको हो। लुम्बनी प्रदेश प्रमुख अमिक शेरचनले यही मंसिर २१ गते प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी ऐन प्रमाणीकरण गरेका छन्। प्रमाणीकरणपछि उक्त ऐन लागु भएको छ। यसअघि लुम्बनी प्रदेशसभाबाट भदौ २२ गते प्रदेश निजामती सेवा ऐन पास गरिएको थियो। ऐनको दफा ११७ मा कर्मचारीहरूले पाउने बिदा सम्बन्धमा व्याख्या गरेको छ। जसअनुसार अबदेखि महिला कर्मचारीले घर बिदा, महिनावारी (पिरियड्स) बिदा, बिरामी बिदा, प्रसूति बिदा, असाधारण बिदा पाउनेछन्।

content ad p2
content left

ऐनमा महिनावारी बिदा कति दिन पाउने भन्नेबारे भने केही उल्लेख छैन। यस विषयमा नियमावलीमा व्याख्या गरिने जनाइएको छ। नियामवलीमा महिनावारी बिदा दुई दिन राख्ने तयारी भएको स्रोतको भनाइ छ। यता संघमातहत कार्यरत सरकारी कर्मचारीहरूका लागि वर्षमा १२१ दिन बिदाको व्यवस्था गरिएको छ। हाल लागु भएको निजामती सेवा ऐनअनुसार सरकारी कर्मचारीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्। यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ। यसबाहेक एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाएका हुन्छन्।

आधाजसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला १८० दिन बराबरको सुविधा लिने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिव बताउँछन्। सरकारले तोकेको सार्वजनिक बिदाबाहेक बेलाबेलामा मन्त्रिपरिषद्ले निर्णय गरेर थप बिदा घोषणा गर्ने गर्छ। यो सुविधा पनि कर्मचारीहरूले पाउने गर्छन्। सरकारले पोहोरदेखि थप बिदाको व्यवस्था गरेको छ। जसअनुसार सरकारी कर्मचारीहरूले पोहोरदेखि उधौली पर्व र धान्य पूर्णिमाको दिन काठमाडौं उपत्यका र सम्बन्धित समुदायका कर्मचारीले देशभरि बिदा पाएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily