
मधेस प्रदेशका अधिकांश पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट ल्याए पनि २३ वटा पालिकाले भने निर्धारित समयमा विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेनन् । मधेस प्रदेशका ११३ पालिकाले शुक्रबार नै बजेट ल्याइसकेका छन् । अन्यले भने दलीय विवाद, प्रमुख कार्यकारी अधिकृत नहुनु र योजना छनोटमा ढिलाइ भएका कारण समयमै नगर तथा गाउँसभा गर्न नसक्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएका छन् ।
सप्तरीका १८ वटा स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले मात्रै नगर तथा गाउँसभा सम्पन्न गरेका छन् । आर्थिक वर्ष ०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ १३ वटा स्थानीय तहले गाउँ तथा नगर सभा सम्पन्न गरेका हुन् ।
नगर तथा गाउँसभा गर्न नसकेका पाँच स्थानीय तहले भने गाउँ÷नगर सभाको मितिसमेत तय गर्न सकिरहेका छैनन् । सप्तरीमा सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् ।
गाउँ तथा नगरसभाको तयारी नपुगेका कारण निर्धारित समयमै गर्न नसकेको जनप्रतिनिधिहरूले बताएका छन् । तर कहिले सभा गर्ने भन्नेबारे अन्योल नै छ । २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ वटा गाउँपालिका रहेको बाराका केही पालिकाले गाउँ तथा नगरसभा गर्न सकेका छैनन् ।
योजना छनोट, निर्णय र सम्बन्धित स्थानीय तहको नीति तथा कार्यक्रम ल्याएर गाउँ र नगरसभा गर्नुपर्ने हुन्छ । तर दलगत जनप्रतिनिधिहरूबीच योजना छनोट र बजेट बाँडफाँटको विषयलाई लिएर विवाद हुने गरेकाले कतिपय पालिकाले बजेट ल्याउन नसकेका हुन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका, पचरौता र निजगढ नगरपालिकाले नगरसभा स्थगित गर्नु परेको थियो । त्यस्तै महागढीमाई नगरपालिकामा वडाध्यक्षले नीति तथा कार्यक्रम नै च्यातेपछि विवाद उत्पन्न भएको हो ।
१६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा भने १२ वटा पालिकाले शुक्रबार नगर तथा गाउँ सभा सम्पन्न गरेका छन् । रौतहटका ३ वटा पालिकाले असार १० गतेभन्दा पहिले नै सभा सम्पन्न गरिसकेका छन् भने ३ वटा पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेनन् । जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण रौतहटका फतुवा विजयपुर, गुजरा र दुर्गा भगवती गाउँपालिकाले सभा नै गर्न सकेनन् ।
आन्तरिक सहमति तथा तयारी पूरा हुन नसकेको भन्दै नगरसभा हुन नसकेको दुुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिए । त्यस्तै महोत्तरीको अधिकांश पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट ल्याएका छन् । तर भंगहा नगरपालिका, सोनमा गाउँपालिकाले नगर तथा गाउँसभा गर्न सकेनन् ।
कार्यपालिकामा नगरसभा सम्बन्धी निर्णय हुन नसकेकाले नगरसभा गर्न नसकिएको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले बताए । उनले दलीय विवादका कारण कार्यपालिकामा नगरसभा सम्बन्धी निर्णय गर्न नसकेको बताए ।
भंगहा नगरपालिकामा २० सदस्यीय कार्यपालिका समिति मध्ये ४ जना लोसपा, ६ जना माओवादी केन्द्र र ९ जना नेपाली काँग्रेसका जनप्रतिनिधिको प्रतिनिधित्व छ । भंगहा नगरका मेयर लोसपाका हुन् । मेयरले आफू अल्पमतमा पर्ने देखेपछि कसैसँग सरसल्लाह नै नगरी अघि बढ्न खोज्दा निर्धारित समयमा नगरसभा हुन नसकेको काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको भनाइ छ ।
त्यस्तै धनुषाका अधिकांश पालिकाले नीति तथा कार्यक्रम ल्याइसकेका छन् भने केही पालिकाको बजेट सार्वजनिक हुन बाँकी छ ।

