
वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष बिजय कुमार चौरसियालाई अदालतले दोस्रो पटक दण्डित गरेको छ । पर्सा जिल्ला अदालतले कुटपिट मुद्दामा निवर्तमान गाउँपालिका अध्यक्ष चाैरसियासहित ९ जनालाई दण्डित गरेकाे हाे ।
गाउँपालिकामा निर्माण भइरहेको बाटोको बिषय भएकाे कुटपिटकाे घटनामा निवर्तमान गाउँपालिका अध्यक्ष चौरसियासहित ९ जनालाई बिपक्षी बनाई स्थानिय हरिशंकर प्रसाद चौहानले अदालतमा मुद्दा दायर गरेका थिए । स्थनिय नन्दलाल चौहानसहितको परिवारका अन्य सदस्यहरुलाई पनि कुटपिट गरेको भन्दै चौहानले मुद्दा दायर गरेका थिए ।

०७७-c4-०१६१ र ०७७-c4-०६६९ काे कुटपिट मुद्दामा पर्सा जिल्ला अदालतका २ नम्बर इजलाशका न्यायाधिश बिष्णु प्रसाद अर्यालले अन्तिम फैसला गर्दै निवर्तमान अध्यक्ष चौरसियासहित ९ जनालाई जनही रु १५ हजार जरिवाना तथा जनही रु ८ हजार क्षतीपुर्ति तिर्ने गरी आदेश दिएको जनाइएकाे छ ।
यसअघि पनि अदालतले निवर्तमान अध्यक्ष चौरसिया र पकहा मैनपुर गाउँपालिका कै वडा नं. ३ का निवर्तमान वडाध्यक्ष मदन साह कानुसहित १५ जनालाई जनही रु ९ सय जरिवाना गरेको थियो ।
उक्त मुद्दामा वादी चौहानको तर्फबाट अधिवक्ताहरु प्रमोद प्रसाह साह, बिरेन्द्र प्रसाद यादव र नजमुदिन राउत गद्दी तथा प्रतिवादीको तर्फबाट अधिवक्ता रामनारायण प्रसाद कुर्मीले बहस पैरवी गरेका थिए ।
चाैहानले अदालतमा दायर गराएकाे मुद्दामा गाउँपालिका क्षेत्रमा चौहानको नम्बरी जग्गामा विना सहमति मुअब्जा नदिई एकतर्फी बाटो निर्माण गर्न खोजिएकाे र निवर्तमान अध्यक्ष चौरसियासहितको टोलीले स्थानिय चौहानको परिवार सहितलाई कुटपिट गरेको आराेप लगाइएकाे थियाे ।

