
बिरगञ्ज, २३ असोज । नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
यसअघि यसै क्षेत्रबाट निर्वाचित वनमन्त्री यादवले आइतबार दिउँसो जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको साझा उम्मेदवारका रुपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आफूद्वारा गरिएको कामको जनताले मूल्यांकन गरेर पुन: निर्वाचित गराउने विश्वास व्यक्त गरे ।
पाँच वर्षको कार्यकालमा आफूले क्षेत्रमा विकासको बाढी ल्याएको दावी गर्दै उनले गाउँगाउँमा सडक सञ्जाल विस्तारदेखि मधेश आन्दोलनका शहिदहरुको स्मरणमा स्मारिका बनाएको स्मरण गराए । “पाँच वर्षसम्म मैले जनताको सेवामा निरन्तर खटेको छु, अब जनताले भोट दिएर ज्याला बुझाउनेछन्,” उनले भने ।
मन्त्री यादव यसअघि २१ हजार १ सय ३२ मत ल्याई तत्कालिन संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बनेर निर्वाचित भएका थिए । उनले आफ्नो निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिल रुङ्टालाई ५ हजारभन्दा बढी मतको अन्तरले पराजित गरेका थिए ।
यादवको प्रतिद्वन्द्वीका रुपमा सत्ता गठबन्धनले पूर्वमन्त्री लक्ष्मणलाल कर्णलाई उम्मेदवार बनाएको छ । कर्ण यसअघि पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालको उम्मेदवार बनेर निर्वाचित भएका थिए । त्यसैगरी नेपाली कांग्रेसबाट टिकट नपाएर संविधानसभा सदस्य अजय द्विवेदीले पनि यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

