
वीरगञ्ज, २७ कार्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभर मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण रुपले रोक लगाएको छ ।
यही मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षलाई मध्यनजर गर्दै आज आइतबार राति १२ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले एउटा सूचना जारी गर्दै जानकारी गराएको हो ।

पर्सामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न गर्ने उद्देश्यले निर्वाचनको केही दिन अगावै मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको हो ।
“आसन्न प्रतिनिधसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मदिराको ओसार पसार, बिक्री वितरण र सेवनबाट शान्ति सुरक्षामा पर्न सक्ने असरलाई मध्यनजर गरी जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त निर्देशन र जिल्ला सुरक्षा समितिको मिति २०७९ कार्तिक २६ गतेको निर्णयानुसार मिति २०७९ कार्तिक २७ गते राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेध गरिएकोले यो सूचना जारी गरिएको छ,” जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, “ कोही कसैले यो सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार बिक्री वितरण र सेवन गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने बेहोरा समेत सबैमा जानकारी गराईन्छ ।”
उक्त निर्णयको पूर्ण परिपालना गर्न/गराउन जिल्लाका सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आमसञ्चार माध्यम र सर्वसाधरणमा अनुरोध गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

