
वीरगञ्ज, २२ मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगञ्ज ९९ मेगाहर्जले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । रेडियोले प्रसारणको २० वर्ष पुरा गरी २१ औँ बर्षमा प्रवेश गर्ने अवसरमा आगामी मंसिर २४ गते शनिवार बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने बिहिवार रेडियो परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
विगतका वर्षहरुमा पनि आयोजना गर्दै आएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने रेडियो वीरगञ्जका कार्यकारी अध्यक्ष ध्रुव साहले बताए । यसअघिका कार्यक्रमजस्तै यस पटक रेडियोका श्रोता, विज्ञापनदाता, शुभचिन्तक लगायत सरोकारवाला निकायको सहयोगमा कार्यक्रम भब्य रुपमा सम्पन्न हुने विश्वास पनि उनले व्यक्त गरे ।

अध्यक्ष साहका अनुसार बार्षिक उत्सवको अवसरमा रेडियोले विगतका वर्ष जस्तो सांस्कृतिक कार्यक्रम गर्ने छैन । रेडियोका पूर्व सहकर्मी एवं सहयोगी पत्रकार नरेश सर्राफ र मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष शिवहरि भट्टराईको असामयिक निधनका कारण वृहत्त सांस्कृतिक कार्यक्रम गर्ने रेडियो बीरगंजको योजना यस बर्षका लागि स्थगित गरिएको पनि साहले स्पष्ट पारे ।
रेडियो वीरगञ्जसँगै संचारको क्षेत्रमा टिभी वीरगञ्ज, रेडियो पोखरीया र मधेश प्रदेशकै प्रतिनिधित्व गर्दै मधेश दृष्टि राष्ट्रिय दैनिक प्रकाशन शुरु गरेको जानकारी पनि साहले गराए । रेडियो वीरगञ्जबाट शुरु भएको यात्रा अहिले मधेशदृष्टि सम्म पुग्नुमा श्रोता, पाठक, विज्ञापनदाता, दर्शकहरुको आपार माया भएको दावी पनि साहले गरेका छन् । साथै यस्तै साथ, सल्लाह, सुझाव, प्रतिक्रिया र स्नेह सँधै भरी पाइरहने अपेक्षा पनि रेडियो वीरगञ्ज परिवारको छ ।
पत्रकार सम्मेलनको सहजिकरण रेडियो वीरगञ्जका समाचार प्रमुख ध्रुव अधिकारीले गरेका थिए ।

