
वीरगन्ज ,११माघ: वीरगन्जकाे माईस्थान स्थित गहवामाई मन्दिर अगाडि र आसपासकाे सडकमा सवारीसाधन प्रवेशमा महानगरले राेक लगाएपछि उक्त निर्णय विरुद्ध स्थानीय घरधनी र पसलेहरु अदालतमा पुगेका छन् ।

माईस्थानका स्थानीय रेवती प्रसाद साहले महानगरकाे निर्णय विरुद्ध वीरगन्ज स्थित उच्च अदालत अस्थायी इजलाशमा रिट निवेदन दिएका हुन् ।उक्त रिट निवेदनमा अदालतले वीरगन्ज महानगरपालिकालाई कारण देखाउ आदेश जारी गरेकाे छ ।महानगर विरुद्ध दायर साहकाे मुद्दामा न्यायाधीश सुदर्शनदेव भट्टकाे इजलाशले माईस्थानकाे गहवामाई मन्दिर क्षेत्रकाे सडकमा सवारीसाधनकाे प्रवेशमा लगाइएकाे राेक बारे कारण सहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न महानगरपालिकाकाे नाममा आदेश जारी गरेकाे हाे ।
रिट निवेदक साहले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा भने इजलाशले दुबै पक्षलाई राखी हुने छलफलबाट निष्कर्षमा पुग्न उपयुक्त हुने देखिदा सो प्रयोजनको लागि माघ १७ गते मंगलबार पेशी तोक्न आदेश पनि दिएको छ ।
इजलाशमा रिट निवेदकको तर्फबाट अधिवक्ताद्वय सुधिर कुमार कर्ण र शैलेन्द्र कुमार चौरसियाले बहस गरेका थिए ।
गहवामाई मन्दिर र त्यस आसपासकाे क्षेत्रकाे सडककाे साैन्दर्यकरण गरेपछि महानगरपालिकाले मन्दिर आसपासकाे सडकमा सवारीसाधन प्रवेश र पार्किङ गर्न राेक लगाएकाे छ । तर यसले आफुहरुकाे व्यपार व्यवसाय चाैपट भएकाे भन्दै त्यस क्षेत्रका पसले र घरधनीले विराेध जनाउदै आएका छन् ।

