
वीरगञ्ज, १७ माघ । निर्देशक पुरु लम्सालद्वारा निर्देशीत वृत्तचित्र ‘गोरु पर्व’ ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
बंगलादेशको बोगुरामा आयोजीत तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ का अवसरमा वृत्तचित्र गोरु पर्वले उत्कृष्ट वृतचित्रको अर्वाड प्राप्त गरेको हो ।

जनवरी २६ देखी २८ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रान्स, इजिप्ट, ट्युनिसिया लगायत विभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको थियो ।
नुवाकोटको तारुकामा हरेक वर्ष माघे सक्रान्तीको अवसरमा आयोजना हुने गोरु जुधाउने परम्परामा आधारित वृत्तचित्र केपी पाठकले निर्माण गरेका हुन् । रमेशकुमार धमला र ज्योति सिंहले खिचेको वृत्तचित्रको सम्पादन लव प्याकुरेलले गरेका छन् ।
वृत्तचित्रमा सुशीलसिंह ठकुरीको पाश्र्वगायन राजेन्द्र बजगाईँको पाश्र्वसंगीत रहेको छ ।
अवार्ड प्राप्त गरेपछि निर्देशक लम्सालले प्रतिक्रिया दिँदै भने, ‘गोरु पर्व हाम्रो मौलिक संस्कृति हो, यसलाई अन्तर्राष्ट्रियकरण गर्ने एउटा प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिहरुको अन्तर्राष्ट्रिय प्रचार गर्न सके यसबाट पनि हामीले देशलाई चिनाउन सक्छौँ ।’

