
वीरगन्ज । सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको पर्सामा दुरुपयोग बढ्दै गएको छ । जनप्रतिनिधि र सरकारी कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेका हुन् । विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत सरकारी गाडी प्रयोग भइरहेका छन् । तर कुनै पनि निकायले गाडी दुरुपयोग भएको नियमन गरेको छैन ।
शुक्रबार पर्साको जिराभवानी गाउँपालिका स्थित रहेको जिराभवानी माईको मन्दिरमा लागेको मेलामा हेर्न र घुमघाम गर्ने गएका वडा अध्यक्ष पुनिलाल साह तेलिको सरकारी मोटरसाइकल चोरी भएको छ ।
पर्साको बहुदरमाई नगरपालिका अन्तर्गत पञ्जिकरण शाखामा कार्यरत प्रबिन्द कुमार साहले पालिकाको कामकाजका लागि लिएको प्र २-०३-००१ ब ५८ नम्बर सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको हो ।

पञ्जिकरण शाखामा कार्यरत साहले आफु कार्यालय आउन जनाको लागि लिएको मोटरसाइल उनका बुबा वडा अध्यक्ष पुनीलाल साह तेलिले प्रयोग गर्दै आएका थिए ।
नेपाल सरकारले दोहरो सेवा सुविधा रोक लगाए सँगै स्थानीय तहका जनप्रतिनिधिहरुले कुनै एक सुविधा लिने गरेकोमा वडा अध्यक्ष तेलीले आफू प्रयोग गर्दै आएको गाडी कार्यलयमा बुझाई सेवा सुविधा लिई रहेका थिए भने पञ्जिकरण शाखामा कार्यरत उनका छोरा प्रबिन्द कुमार साहको नाममा नगरपालिकाको कार्यलयबाट सरकारी गाडी लिई वडा अध्यक्ष तेलीले प्रयोग गर्दै आएका थिए ।
शुक्रबार वडा अध्यक्ष तेलीले आफैं मोटरसाइकल लिई मेलामा घुम्न गएका थिए । मेलामा पार्किङ गरी मेला घुम्दै गरेकोमा सरकारी मोटरसाइकल चोरी भएको स्थानियहरुले बताएका छन् ।
तर यस विषयमा बहुदरमाई नगरपालिकाको फेसबुक पेजमा यस्तो सूचना सार्वजनिक गरिएको छ ।


