Aadarsh-Daily

 उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिने तयारीमा दाहाल 

ad-4p

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिन लागेका हुन् ।

content ad p2

राप्रपाले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए । राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र अर्थात् चैत १३ सम्म प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले चैत ५ लगत्तै प्रधानमन्त्री दाहालले विश्वासको मत लिने बताए । ९ दलीय गठबन्धनका शीर्ष नेताहरूबीच चैत ६ मै विश्वासको मत लिनेबारेमा छलफल भइरहेको छ । ‘औपचारिक रूपमा ठ्याक्कै मिति तय भएको छैन, तर ५ गतेलगत्तै विश्वासको मत लिएर सरकार विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ गजुरेलले भने ।

चैत ५ मा संसद्को बैठक बोलाइएको छ । त्यस दिन संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने सरकारको तयारी छ । संसद् बैठक बस्नुअघि प्रतिनिधिसभाको विपक्षी बेन्चमा कुन दल बस्ने भन्ने अन्योल हटाउने विषयमा पनि ९ दलीय गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेका छन् । सरकार छाडेपछि एमालेले विपक्षी बेन्चमा बस्ने निर्णय लिइसकेको छ भने सरकारमा सहभागी नहुन्जेल कांग्रेसले पनि विपक्षी बेन्चमै बस्ने बताउँदै आएको छ । ‘संसद् बैठक बस्नुअघि कांग्रेसबाट कम्तीमा एक जना मन्त्री पठाएर भए पनि यसको निकास दिने विषयमा गठबन्धनमा छलफल भएको छ,’ सरकारका एक मन्त्रीले भने ।

माओवादी अध्यक्ष दाहाल एमाले, राप्रपासहित ७ दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसबेलादेखि कांग्रेस प्रतिपक्षी बेन्चमा छ । कांग्रेसले पुस २६ मा भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । त्यसको डेढ महिनामा कांग्रेस–माओवादीसहितको ९ दलीय गठबन्धन बनेको हो । राष्ट्रिय जनमोर्चाबाहेक आठै दल सरकारमा जान आतुर छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने कसरत प्रधानमन्त्री दाहालले गरिरहेका छन् । सरकारमा सहभागी हुन खोज्ने दलको संख्या बढी भएकाले मन्त्रालयको भागबन्डा जटिल बन्दै गएको छ ।

content left

गठबन्धनका एक नेताका अनुसार शक्तिशाली, विकासे र सेवामुखी मन्त्रालय वर्गीकरण गरी सन्तुलन मिलाएर भागबन्डा गर्ने गरी अनौपचारिक छलफल भएको छ । यसअघि एमालेले लिएका अधिकांश मन्त्रालय कांग्रेसको भागमा पर्ने सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिले लिएको गृह मन्त्रालयमा भने सरकारको नेतृत्व गरेको माओवादीको दाबी छ । उक्त मन्त्रालयमा एकीकृत समाजवादीको पनि दाबी छ । कांग्रेसले अर्थ मन्त्रालयसहित करिब ८ मन्त्रालय पाउने सम्भावना रहेको एक नेताले बताए ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले पार्टीबाट सरकारको नेतृत्व गर्ने चर्चा छ । खड्काले केही दिनअघि सामाजिक सञ्जाल ट्वीटरमा आफू मन्त्री हुने दौडमा नरहेको बताएका थिए । खड्का सरकारमा गएनन् भने पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिमध्ये एकलाई पार्टीको नेतृत्व गरेर पठाउने मनस्थितिमा सभापति शेरबहादुर देउवा छन् ।

कांग्रेसले बुधबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । पार्टी प्रवक्ता प्रकाशरण महतले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपराष्ट्रपतिको निर्वाचन र चितवन एवं तनहुँमा हुने उपनिर्वाचनसम्बन्धी तयारी मुख्य एजेन्डा रहेको बताए । ‘अहिले सरकारको नेतृत्व गरेर को जाने, कति मन्त्रालय लिने भन्नेबारेमा छलफल भएको छैन ।

उपराष्ट्रपतिको निर्वाचनपछि नै छलफल सुरु होला,’ उनले भने । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले पनि मन्त्रालय भागबन्डाको विषयमा ठोस छलफल भइनसकेको दाबी गरे । ‘अहिले अनौपचारिक चर्चा र सम्भावित कुरा मात्रै बाहिर आएका हुन्,’ उनले भने, ‘चैत ५ पछि नै ठोस छलफल हुन्छ ।’

संभार कान्तिपुरका

 

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily