
वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा विद्यार्थीसँग दुर्व्यवहार गर्ने क्याम्पस प्रमुखमाथि कारवाहीको माग गर्दै नेपाल विद्यार्थी सङ्घले ज्ञापन पत्र बुझाएको छ ।
सोमबार साँझ नेविसङ्घ पर्साका अध्यक्ष रमेश यादव नेतृत्वको टोलीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापन पत्र बुझाउँदै विधार्थीलाई गालीगलौज गर्दै हातपातसमेत गर्ने वीरगञ्ज नर्सिङ क्याम्पसकी प्रमुख जमुना भट्टराईमाथि कारवाहीको माग गरेको हो ।
प्रमुख भट्टराईले आइतबार राति क्याम्पसका विद्यार्थीहरुलाई गालिगलौज गर्दै हातपत गरेकी थिइन् । उनले गालिगलौज गर्दै कराइरहेको र विद्यार्थीमाथि हातपातसमेत गरेको एउटा भिडियो नै सार्वजनिक भएको छ ।
नेविसङ्घकाअनुसार आइतबार रातिको घटना पश्चात क्याम्पस प्रमुख भट्टराईले विद्यार्थीहरुलाई बाहिर निस्किन दिएकी छैनन् । भट्टराईले नेविसङ्घकी एकाई अध्यक्ष सबिना सुनारलाई बाहिर निस्किन नदिएपछि उनले हस्ताक्षर गरेको ज्ञापनपत्र आफूहरुले जिल्ला प्रशासन कार्यालयमा बुझाएको नेविसङ्घका जिल्ला सभापति यादवले बताए । उनले भने, ‘अझैपनि क्याम्पस प्रमुखले नेविसङ्घ समर्थित छात्राहरुलाई धम्क्याएर क्याम्पस भित्रै राखेकी छन्, न्याय माग्न उनिहरु निस्किन खोज्दापनि निस्किन दिएकी छैनन्, हामीलाई पनि भित्र छिर्न दिएकी छैनन् ।’
क्याम्पस प्रमुखको रवैयाका कारण विद्यार्थीहरु त्यहाँ असुरक्षित महसुस गरिरहेको यादवको भनाई छ । विद्यार्थीहरुले आइतबार राति नै वडा प्रहरी कार्यालय विर्तामा प्रमुखविरुद्ध ठाडो उजुरी पनि दिएको उनले बताए । ‘क्याम्पसमा पढ्ने माहोल छैन । क्यामपसको गार्जियनले नै विद्यार्थीहरुसँग दुर्व्यवहार गरेपछि पढ्ने माहोल बिग्रिनु स्वाभाविक हो,’ उनले भने, ‘त्यहाँ कुनैपनि बेला अप्रिय घटना हुनसक्छ । विद्यार्थीहरुलाई शान्तिसुरक्षा प्रदान गर्न आवश्यक छ ।’
नेविसङ्घले बुझाएको ज्ञापनपत्रमा स्ववियू निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले खलेको शङ्कास्पद भूमिकाको विरोध गर्दा उल्टै उनले विद्यार्थहरुलाई आईतबार बेलुकी गालीगलौज र हातपात गरेको र त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको उल्लेख छ । सञ्जालमा आएको भिडियोमा निक्कै आक्रोशित मुद्रामा प्रस्तुत हुँदै क्याम्पस प्रमुख भट्टराइले विद्यार्थहरुलाई गमला उठाएर हान्न खोजेको, केहि छात्रालाई हातले हिर्काएको, तथनाम गाली गलौज गरेको दृश्यहरु देख्न सकिन्छ ।
चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको विषयलाई लिएर नेविसङ्घ आबद्ध विद्यार्थीहरुले भट्टराईको कार्यकक्षमा तालाबन्दी गरेका थिए । भट्टराईले आइतबार राति नेविसङ्घसँग समन्वय नगरी ताल्चा फुटाइन् । स्ववियू निर्वाचनमा धाँधली भएको आरोप लगाएर नेविसङ्घले गरेको तालाबन्दी फुटाइएपछि बुझ्न गएका विद्यार्थीहरुमाथि उनि जाइलागेकी थिइन् ।

वीरगञ्ज नर्सिङ क्यामपस नेविसङ्घ एकाई कमिटिकी अध्यक्ष सबिना सुनारकाअनुसार ताल्चा फुटाइएको विषयमा आफूहरु बुझ्न जाँदा प्रमुख भट्टराईले गालीगलौज गर्दै आफूहरुमाथि हातपात गरिन । ‘हामीहरुले किन ताल्चा फुटाएको भनेर बुझ्न मात्र गएका थियौँ । तर चिफ म्याम (क्याम्पस प्रमुख) ले उल्टै म मेरो पावर अब देखाइदिन्छु, तिमिहरुले जे गर्न सक्छौ गर, जाउ पत्रिकामा छपाइदेउ भन्दै हामी माथि झम्टिनु भयो, म समेत ४/५ जना माथि हातपात पनि गर्नुभयो, फुलको गमला नै हामीतिरै ताकेर हान्न थालेपछि भागाभाग भयो,’ सुनारले भनिन् ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले घटना बारे सत्यतथ्य छानबिन गरेर आवश्यक प्रकृया अगाडि बढाउने प्रतबद्धता जनाएका छन् ।
नेविसङ्घका अनुसार स्ववियू निर्वाचनमा एमाले समर्थित क्याम्पस प्रमुख भट्टराइले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का उम्मेदवारलाई जिताउन मौनअवधीमा रातिराति होस्टेल भित्र छिरेर विधार्थीहरुलाई अनेक धाकधम्की दिएकी थिइन् । निर्वाचनमा एक सदस्य बाहेक सभापति सहित सबै पदमा अनेरास्ववियूकै उम्मेदवार विजयी भएका छन् । चुनावको नतिजा आएको भोलिपल्टै बिहान चैत ६ गते नेविसंघ एकाई समितिले निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले एमालेको कार्यकर्ताका रुपमा खटेर धाँधली गरेकाले उनको राजीनामा माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
क्याम्पस प्रमुख भट्टराईले भने आइतबार राती आफूले विद्यार्थीहरुसँग कुनै कीसिमको दुर्व्यवहार नगरेको प्रतिक्रिया दिइन् । विद्यार्थीहरुलाई अनुसासनमा ल्याउन ठूलो स्वरमा कराएको स्वीकार गर्दै उनले भनिन्, ‘यो कुनै ठूलो कुरा होइन, सम्झाउँदा नमानेपछि अलि ठूलो स्वरमा बोलदिएको मात्रै हो । अत्ति नै भएपछि विधार्थीहरुलाई अनुसासनमा ल्याउन त्यसो गरेकी हुँ ।’ परिक्षाका बेला तालाबन्दी नगर भनेर आग्रह गर्दा विधार्थीहरुले नमानेपछि स्थिती केहि असमान्य बन्न पुगेको उनले स्वीकारीन् । आइतबार राति नेविसङ्घका विद्यार्थीहरुकै उपस्थितिमा आफूले कार्यकक्षमा लागेको तालाबन्दी खोलेको भट्टराईको दावी छ ।
यता, नेविसङ्घकी एकाई अध्यक्ष सुनारले भने क्याम्पस प्रमुखको दावीलाई झुठो बताउँदै भनिन्, ‘सारा सङ्गठन आज मसँग उभिएको छ । चिफ म्यामले दावी गरे जस्तो नेविसङ्घको कोही पनि विद्यार्थी तालाबन्दी खुलाउने समयमा उपस्थित थिएन् । दुई-चार जना विद्यार्थीलाई उनले भ्रममा पारेर यस्तो गरेकी हुन् । उनीहरुपनि नेविसङ्घसँ आबद्ध छैनन् ।’
सुनारले कार्यकक्षमा गरिएको तालाबन्दीका कारण परिक्षामा कुनै असर नपर्ने दावी गरिन । ‘हामीले पठनपाठन र परिक्षालाई मध्यनजर गर्दै क्याम्पसस्थित प्रशाशनिक भवनको तालाबन्दी खुलाइदिएका छौँ । प्रमुखको कार्यकक्षसँग परिक्षा पठनपाठन र परिक्षाको कुनै सरोकार नै छैन । प्रमुख म्यामले दावी गरे जस्तो परिक्षा सञ्चालन र अन्य सेवा प्रवाहमा कुनै समस्या आउँदैन,’ उनले भनिन् ।’
क्याम्पसकी स्ववियू सभापति मनिषा चौधरीले भने सुरुमा नेविसङ्घ निकट विद्यार्थीहरुले क्याम्पस प्रमुख भट्टराईसँग दुर्व्यवहार गरेको आरोप लगाइन । चौधरीकाअनुसार नेविसङ्घ निकट विद्यार्थीहरुले तालबन्दी खोलेको विषमा भइरहेको कुराकानीका क्रममा प्रमुख भट्टराईसँग दुर्व्यवहार गरेको र त्यसपछि आफ्नो बचाउमा प्रमुखले उनीहरुलाई त्यहाँबाट जान लगाएको बताइन । ‘मैले बुझेअनुसार सुरुमा नेविसङ्घका साथीहरुले चिफ म्यामसँग दुर्व्यवहार गरेका रहेछन्, म्यामले आफ्नो बचाउमा उनीहरुमाथि कराउनु भएको हो । सामाजिक सञ्जालमा आधा कुराको भिडियो बनाएर दुष्प्रचार गरिँदै छ,’ उनले भनिन् । आफू अहिले अस्वस्थ्य भएको कारणले यस विषयमा अझै धेरै बुझ्न नसकेको उनले बताइन ।

