
विराटनगर महानगरपालिकाले नयाँ वर्ष वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा खैनी, चुरोट, पानपराग, गुट्खालगायत खान निषेध गर्ने भएकाे छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेकाे महानगरले यस्ताे निर्णय गरेकाे हाे ।
गएकाे पुस २७ गते बसेको नगरसभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र धुम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत गाडीको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उहाँले बताउनु भयाे । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुम्रपान र गुट्खा, खैनी खाएर सहर फोहर गर्ने गरेका विषयमा छलफल गरेको थियो ।

विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको कोइरालाले बताउनु भयाे। उहाँले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलनलगायतका अभियान सञ्चालन गरिरहेको बताउनु भयाे । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने मेयर कोइरालाको भनाइ छ ।
उहाँले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सबैलाई आग्रह पनि गर्नुभएको छ । ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ’, कोइरालाले भन्नुभयो, ‘सहरको सुन्दरता र सभ्यतासँग ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु ।’ ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो ।

