Aadarsh-Daily

बिन्दवासिनी मन्दिरको जग्गामा व्यक्तिको रजाइँ

ad-4p

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित विन्दवासिनी मन्दिरको नाममा रहेको जग्गा दुई दशकभन्दा लामो समयदेखि अतिक्रमणको चपेटामा छ । श्री बिन्दबासिनी भगवतीको नाममा रहेको सात विघा १७ कट्ठा जग्गामध्ये झण्डै ६ विघा जग्गा मन्दिरको नियन्त्रणमा छैन ।

content ad p2

एक विघा १७ कट्ठा जग्गा मात्रै फौजदार (जग्गा जोत्नका लागि नियुक्त गरिएका व्यक्ति) ले जोतिरहेका छन् भने छ विघामा अरु स्थानीयले जोतिरहेका छन् । फौजदारले जोतिरहेको एक विघा १७ कट्ठा जग्गाकै भरमा अहिले बिन्दबासिनी मन्दिर सञ्चालन भइरहेको मन्दिरका पूजारी पुरुषोत्तम देव उपाध्यायले बताए । यसका अलावा भक्तजनहरुको दक्षिणा, भेठी र सहयोगले पनि मन्दिर सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । उनले भने, ‘मेरो काम पूजा गर्ने र मन्दिर चलाउने हो, खासमा यो जग्गाको संरक्षणकर्ता गुठी संस्थान हो । तर मन्दिरको स्वामित्वमा रहेको जग्गालाई मन्दिरकै नियन्त्रणमा ल्याउन कुनै पहल भएको छैन ।’

राजाकै पालामा मन्दिरको संरक्षण गर्न र मन्दिर सञ्चालन गर्नका लागि फौँजदार पदमा नियुक्त गरि उनीहरुलाई नै कमाइ खान र मन्दिरको संरक्षण गर्न जिम्मा दिइएको थियो । तर २०२१ सालभन्दा पहिलै देखि नै स्थानीय स्तरकै व्यक्तिहरुले मन्दिरको नाममा रहेको जग्गा जोत्दै आएका छन् । उपलब्ध प्रमाणकाअनुसार जगरनाथ ठाकुरले कित्ता नम्बर ९५, रामकपाल सा कलवारले कित्ता नम्बर ९६, राम साह कलवारले कित्ता नम्बर ९८ र प्रेम प्रसाद कलवारले कित्ता नम्बर ९९ को जग्गा जोतिरहेका छन् ।
गुठी संस्थानसँगै मन्दिर संरक्षण समितिले पनि सक्रियता नदेखाएर सबै काम पूजारीकै टाउकोमा थुपारिदिएको उपाध्यायको भनाई छ । २०५९ सालमा गुठी संस्थानले मोही कट्टा गरेको थियो । मेही कट्टा गरेपछि भोगचलन गर्दै आएकाहरुले सर्वाेच्चमा रिट दिएको दिए । अदालतले पनि उनीहरुको पक्षमा फैसला सुनायो ।

२०७२ सालमा लक्ष्मीकान्त तिवारीको अध्यक्षतामा पाँच वटै गाउँको प्रतिनिधित्व हुने गरि बनाइएको २१ सदस्यीय श्री विन्दवासिनी माई मन्दिर गुठी व्यवस्थापन समितिले पनि व्यवस्थापनतर्फ कुनै चासो नदिएको पूजारी उपाध्यायको आरोप छ ।

content left

अमरपट्टी, बहुअर्वाभाठा, बैरियाबिर्ता, झौवा गुठी र बिन्दबासिनीका प्रतिनिधि समितिमा भएपनि गुठी संस्थाले फौजदारबाटै उक्त जग्गा जोताउन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे । उनका अनुसार यसअघिका जनप्रतिनिधिले पनि मन्दिरको जग्गा फिर्ता ल्याउने विषयमा कुनै चासो देखाएनन् । यस सम्बन्धमा ध्यानाकर्षण गराउन जाँदा वीरगञ्ज १९ का वडाअध्यक्ष मुकेश चौरसियाले कुरै गर्न नखोजेको उपाध्यायको आरोप छ । वीरगञ्ज महानगरपालिकाले भने मन्दिरको नाला निर्माण र रंगरोगनका लागि आवश्यक काम गरेको उनले बताए ।
मन्दिर कम्पाउण्डको जग्गाको मुख्य गेटदेखि मण्डपसम्मको जग्गाको कुनै कागजात नभएको हुँदा अतिक्रमण हुन सक्नेमा चिन्ता व्यक्त गर्दै उनले मन्दिरको नाममा बनाइदिन सरोकारवालालाई आग्रह गरे ।
गुठी संस्थानका प्रमुख चुडामणी घिमिरेकाअनुसार उक्त जग्गा फौजदारलाई नै जोत्न दिने पहल भइरहेको छ । उनले भने, ‘यो खान्गी जग्गा हो, खान्गीदारले नै जोतेर खानुका साथै मन्दिरमा सहयोग गर्नका लागि दिइएको जग्गा भएपनि मोहीवालाहरुले जोत्न दिइरहेका छैनन् । अब हामी प्रमुख जिल्ला अधिकारी र मेयर सावसँग बसेर यस विषयलाई छिटै टुंगो लगाउँछौ ।’ मन्दिरसँगै धर्म संस्कृतिको संरक्षणका लागि स्थापीत गुठी संस्थानले हरेक समयमा पहल कदमी गर्दै आएको उनको भनाई छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष मुकेश चौरसिया मन्दिरको नाममा रहेको जग्गा व्यक्तिले प्रयोग गर्न नपाउने बताउँछन् । सार्वजनिक र गुठीको जग्गालाई अतिक्रमण मुक्त गराउने वीरगञ्ज महानगरको अभियानमा आफुले पनि पहल गरिरहेको हुँदा केही दिनभित्रै मन्दिरको जग्गाको बारेमा पनि जानकारी लिने वडाअध्यक्ष चौरसियाले बताए । साथै उनले सार्वजनिक जग्गा अतिक्रमण गरेर वर्षाैदेखि खनजोत गरेर खाइरहेको भए उजुरी दिन पनि वडाबासीलाई आग्रह गरेका छन् ।

करिब दुई दशकदेखि मोहीवालाले जग्गा जोत्न नदिएको फौजदार लालबाबु ठाकुर बताउँछन् । ठाकुरकाअनुसार उक्त जग्गा हजुरबुबा स्वर्गीय गणेश ठाकुरकै पालादेखि उनकै परिवारले जोत्नुका साथै मन्दिर सञ्चालनमा पनि सहयोग गर्दै आएको छ ।

उनले भने, ‘गुठी संस्थानले खान्गी जग्गामा मोही लाग्दैन भन्छ, तर त्याहाँ मोहीवालाले हामीलाई जोत्नै दिँदैनन् । अहिले एक विघा १७ कट्ठा मात्रै जोतिरहेको छु ।’ उनले थपे, ‘गुठी संस्थानले मन्दिरको नाममा भएको सबै जग्गा जोत्नुहोस् भनेपनि जोत्न जाँदा झगडा गर्छन् । त्यही भएर प्रहरी र प्रशासनको संरक्षणबिना म एक्लै केही गर्न सक्तैन ।’

आफुले भोगचलन गरेको जग्गाअनुसार हरेक वर्षमा मन्दिरका पूजारीले भनेबमोजिमको काम गर्दै आएको ठाकुले बताए ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily