
वीरगञ्ज । नागरिकतासम्बन्धि नयाँ ऐनअनुसार आज आइतबारदेखि नागरिकता वितरण गर्ने भनिएपनि पर्सामा भोलीदेखि मात्र नागरिकता वितरण सुरु हुने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार दिउँसो एउटा सूचना जारी गर्दै नयाँ नागरिकता ऐनअनुसार सोमबारदेखि नागरिकता वितरण सुरू हुने जनाएको छ ।

देशको दुवै सदनबाट दुई/दुई पटक भएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेका थिए । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ ऐनअनुसार नागरिकता वितरण गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ ।
बिहिबारनै राजपत्रमा सूचना प्रकाशित भएपछि सबैले आइतबारदेखि नागरिकता वितरण सुरु हुने आङ्कलन गरेका थिए । यद्यपि जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार नागरिकता वितरण गरेन । वीरगञ्ज महानगर र अन्य स्थानीय तहका वडाअध्यक्षसमेत जिल्ला प्रशासन कार्यालयबाट पत्र नपाएको बताउँदै सिफारिस गर्न मानेनन् । सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडीओ) भीमकान्त पौडेलले दिउँसो एउटा सूचना जारी गर्दै सोमबारदेखि मात्रै नागरिकता वितरण गरिने जनाएका छन् ।
सूचना मार्फत सहायक सिडीओ पौडेलले नयाँ नागरिकता ऐनअनुसार नागरिकता बनाउन आवश्यक पर्ने कागजातका बारेमा पनि जानकारी गराएका छन् । उनकाअनुसार नागरिकता प्राप्त गर्नका लागि निवेदकले वडाअध्यक्षको सिफारिससहितको अनुसूची १ को फारम, बाआमाको सक्कल नागरिकता र फोटोकपी, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रलगायतका कागजातहरु चाहिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
उनले नागरिकता वितरणका लागि सम्पूर्ण तयारी पूरा भएको र सोमबारदेखि नागरिकता वितरण गरिने जनाएका छन् ।

