Aadarsh-Daily

मधेश प्रदेशसभाले आर्थिक विधेयक पारित

ad-4p

मधेश प्रदेशसभाले आर्थिक विधेयक पारित गरेको छ । शुक्रबार सर्वसहमतिले आर्थिक विधेयक २०८० पारित गरिएको छ । विधेयक पारित भएसंगै प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुलेको छ ।

content ad p2

अर्थमन्त्री संजयकुमार यादवले आर्थिक विधेयक २०८० माथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि सो विधेयकमाथि छलफल प्रारम्भ गरिएको थियो । सांसदहरुले छलफलमा भाग लिएर परिष्कृत बनाउने सुझाब तथा जिज्ञासा राखेका थिए । छलफलमा उठेको प्रश्नको अर्थमन्त्री यादवले जवाफ दिएका थिए । मन्त्री यादवले प्रदेशको कोष मजबुत गर्ने, जनतालाई सेवा दिने, राजस्वको दायरा फराकिलो बनाउने, सबल अर्थतन्त्र र बलियो सरकारका लागि सन्दुक (ढुकुटी) र बन्दुक (प्रहरी प्रशासन) आवश्यक पर्ने भएकाले प्रदेश सरकार सक्दो काम गरिरहेको बताए । बन्दुक अर्थात् प्रहरी प्रशासन प्रदेश मातहतमा ल्याउन आफूहरुको प्रयास जारी रहेको उनले बताए । त्यसपछि अर्थ मन्त्री यादवले पुनःउक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए ।

सभामुख रामचन्द्र मण्डलले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सबै सांसदले टेबल ठोकेर सहमति जनाएका थिए । यस्तै,मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय सेवाहरुको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमाथि समान्य छलफल प्रारम्भ गरिएको थियो ।

content left

छलफलमा भाग लिँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले विधेयक धेरै महत्वपूर्ण रहेको बताए । प्रदेशले कानुन बनाएपछि स्थानीय तहले बनाउँदा विधेयक बाझिने डर नहुने उनको कथन थियो । ‘दुई वर्षसम्म सरुवा नहुने विधेयकमा लेखिएको छ । राम्रो छ,’उनले भने,‘तर, दुई वर्षपछि अनिवार्य सरुवा पनि भएको भए झन राम्रो हुने थियो ।’ कर्मचारीहरु वर्षैावर्षदेखि एकै ठाउँमा बस्दा अनियमतिता भएको गन्ध आउने गरेको उनले बताए ।

छलफलमा उठेको प्रश्नहरुको मुख्यमन्त्री यादवले जवाफ दिएका थिए । तीन वर्षअघि नै यो ऐन बनाइसक्नु पर्ने थियो । तर ढिला भएको उनले स्वीकार गरे । सोही कारण स्थानीय तहसँग पनि राम्रो समन्वय हुन नसकेको उनले जिकिर गरे । ‘स्थानीय तहमा चाहिने कर्मचारी प्रदेश लोकसेवा बाटै जानेछ,’उनले भने,‘त्यसको सरुवा प्रदेश सरकारले नै गर्ने हो । विलम्ब त भयो । अव विलम्ब नगरौं ।’ प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरुको व्यवस्थापन र सरुवा गर्ने विषयमा संघीय सरकारसित माग गरिरहेको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा हाल संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरिरहेको छ । प्रमुख प्रशासकीय अधिकृतको सरुवामा संघीय मन्त्रालयबाट व्यापक चलखेल हुँदा महिना नबित्दै सरुवा र कतिपय पालिकामा हाजिरसमेत हुन नदिने गरिएको छ । एक महिना भित्र ४ वटा ऐन बनाउनुपर्ने सरकारको योजना रहेको उनले बताए । स्थानीय, खरिद, अनुदान र भूमिसुधार ऐन ल्याइने उनले बताए । खरिद ऐनले टेण्डर प्रकृयालाई पारदर्शी बनाउने ,भूमि ऐनले गुठी जस्ता अलपत्र जग्गा सदुपयोग गरिने उनको कथन थियो ।

मधेश प्रदेशमा गुठी संस्थान, स्वायत मठमन्दिर, विभिन्न जातीय मठमन्दिर लगायतका जग्गाहरु अव्यवस्थित र बिक्रीमुखी रहेको छ । प्रदेशमा भूमि व्यवस्था मन्त्रालय रहे पनि आवश्यक कानुनको अभावमा त्यो नाममा मात्र सीमित रहेको छ । भूमि सम्बन्धी अधिकार प्रदेशलाई भए पनि कानुन नहुँदा काम गर्न नसकेको बताइन्छ । मधेश प्रदेशमा रहेका भूमिलाई व्यवस्थापन र संरक्षण गर्न भूमि ऐन बनाउन आवश्यक रहेको मुख्यमन्त्री यादवले बताए ।

यस्तै,भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशको सवारी तथा यातायात व्यवस्था विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो विधेयकमाथि पनि समान्य छलफल गरिएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विधेयक समितिमा पठाइयोस भने प्रस्ताव गरे । दुबै विधेयकमाथिको संशोधन दार्ता गराउन असार ३० गतेसम्मको समय तोकिएको छ ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily